• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

जेनजी आन्दोलनः हालसम्म २० अर्ब ७० करोडकाे बीमा दाबी

जेनजी आन्दोलनः हालसम्म २० अर्ब ७० करोडकाे बीमा दाबी

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिका कारण भौतिक संरचनामा पुगेको क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दाबी भएको छ ।

जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दाबी भएको छ । प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा कूल ४० वटा बीमा दाबी परेको छ । त्यसको कूल दाबी पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार बराबर छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा २३३ वटा बीमा दाबी छ । एक अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६ बराबरको माग भइआएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा १९६ वटाको आवेदन पर्दा एक अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९ बराबरको बीमा दाबी परेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ को चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५००, शिखर इन्स्योरन्स कम्पनीमा ३६६ वटा बीमा दाबी परेको छ । कूल दाबी भने रु दुई अर्ब ३९ करोड चार लाख ७७ हजार ७६४ रहेको छ । आइजिआइ प्रुडेन्सियल इस्न्योरेन्समा २४ वटा बीमा दाबी परेको छ । सो कम्पनीमा एक अर्ब ५९ करोड छ लाख ८० हजार ८०० बराबरको बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।

उता युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा १७० वटाको रु ४८ करोड ७४ लाख ७५ हजार ३६०, नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ वटाको रु ४६ करोड ९४ लाख ९८ हजार बराबरको बीमा दाबी परेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीमा १५१ वटाको रु ३८ करोड ५८ लाख २२ हजार, प्रभु इन्स्योरेन्समा ६९ वटाको रु १९ करोड १८ लाख बराबरको बीमा दाबी भएको छ ।

नेको इन्स्योरेन्समा ४० वटाको एक अर्ब नौ करोड ५३ लाख ६५ हजार २०७ बराबरको माग भएको छ । सानिमा जिआईसीमा १२९ वटाको रु ७८ करोड ९३ लाख ७९ हजार बराबरको दाबी छ। राष्ट्रिय बीमा कम्पनीमा १७२ वटाको रु ४९ करोड ५१ लाख बराबरको बीमा माग भएको छ ।

यस्तै नेशनल इन्स्योरेन्स कम्पनीमा १९ वटाको छ करोड ८२ लाख ९० हजार ७५६ बराबरको दाबी परेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीमा नौ वटाको एक करोड १३ लाख २२ हजार ८००, स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा छ वटाको ६७ लाख सात हजार ६५०, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा १५ वटाको रु ५६ लाख ३६ हजार, ट्रस्ट माइक्रो इन्स्योरेन्समा आठ वटाको रु ४२ लाख बराबरको बीमा दाबी भएको छ । प्राधिकरणका अनुसार हालसम्म एक हजार ९८४ वटा बीमा दाबी भएको छ।

नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रियाअघि बढाउन सङ्घले आग्रहसमेत गरेको छ ।

वर्तमान अवस्थामा बीमाको महत्त्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्ररूपमा अगाडि बढाइरहेको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी, क्षति विवरणको आधारमा दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्‍याउने सङ्घले स्पष्ट पारेको छ ।

नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै देशभर जारी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

आन्दोलनका क्रममा राष्ट्रपतिको भवन, संसद् भवन, सुरक्षा निकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायातलगायतका भौतिक संरचनामा भएको क्षतिको गहिरो दुःख व्यक्त गर्दै सङ्घले बीमा कम्पनीलाई यस सङ्कटको समयमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको छ ।

सङ्घका अध्यक्ष राजेन्द्र मल्लले बीमितले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजात चाँडो बीमा कम्पनीमा बुझाइ दाबी प्रक्रिया सहज बनाउन अपिल गरेका छन् । साथै, बीमा कम्पनीले पनि दाबी भुक्तानी प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेको अध्यक्ष मल्लले बताए ।

विसं २०७२ को भूकम्प र कोभिड महामारीपछिका अनुभवले बीमाको आवश्यकता र उपयोगितालाई गम्भीर रूपमा महसुस गराएको सन्दर्भमा, हालको परिस्थितिमा बीमा कम्पनीको सक्रियता सकारात्मक र आशाजनक देखिएको उनले बताए । राससबाट



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ४, शनिबार ००:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP