बनेपा । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनसँगै घुसपैठ पनि भएको पाइएको छ । खासमा जेनजीहरुले तोडफोड र आगजनी गर्ने मनसायले आन्दोलन नगरेको र उनीहरुको नाममा केही अराजक तत्वहरुले फाइदा निकालेको दलहरुको ठहर छ ।
निजी र सरकारी भवनमा छानीछानी आक्रमण भएको जिल्लाका राजनीतिक दलहरुले निष्कर्ष निकालेका छन् । विशेषगरि नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुका निजी घरहरुमा आगजनी र तोडफोड गरिएका छन् । उनीहरुसँग पुरानो केही दुष्मनी साट्न खोज्नेहरुले यसरी घटना गराएको बुझिएको छ ।

आन्दोलनका नाममा अराजक तत्वहरुले उदण्ड मच्चाएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईंले बताउनुभयो । उहाँले आफ्नो घर तोडफोड गर्न आएका मध्ये यो त शिव अंकलको घर पो रहेछ, भन्दै फर्किएका पनि पाइएको बताउनुभयो । तोडफोडमा संलग्नहरु आफूहरुले चिनेको र उनीहरु विरुद्ध कानुनी कारबाहीका लागि जाने तयारीमा रहेको हुमागाईंले बताउनुभयो । घर जलाए पनि कांग्रेसको मन र विचार नजलेको उहाँको दाबी थियो ।

उता पनौतीका प्रमुख रामशरण भण्डारीको घरमा पनि तोडफोड र लुटपाट गरिएको छ । आफ्नो घरमा अरुको जस्तो आगलागी हुन भने नपाएको तर क्षति करिब ३० लाखभन्दा बढीको भएको उहाँले बताउनुभयो । प्रमुख भण्डारीकी श्रीमती चम्पा भण्डारीले आफूले दुःख गरेर तरकारी बेचेर जोगाएको करिब २ लाख नगद र ४ तोला जति सुन लुटिएको बताउनुभयो । आन्दोलनकारी भनिएकाहरुको पहिचान भइसकेको र कानुनी बाटो अपनाउने तयारी भइरहेको उहाँको भनाइ छ ।
यस्तै उपप्रमुख गीता बञ्जाराको घर पनि तोडफोड र आगजनी गरिएको छ । त्यतिबेला मकैबारीमा लुकेर ज्यान जोगाएको बताउँदै उहाँले योजना बनाएर आन्दोलनकारी एकपछि अर्को व्यक्तिको घरमा तोडफोड गर्न पुगेको बताउनुभयो । उहाँले आफूले कुनै पनि भ्रष्टाचारजन्य काम नगरेको र केही प्रमाण पाए देखाउन चुनौती पनि दिनुभयो । यसको ढिलो चाँडो कानुनी बाटोमै जाने तयारीमा आफू रहेको बञ्जारा बताउनुहुन्छ ।

पनौतीका पूर्वमेयर भीम न्यौपानेका तीन वटा घरहरु आन्दोलनकारीले निशाना बनाए । ०७२ को भूकम्पमा समेत नभत्किएका पुराना घरहरु आन्दोलनकारीले क्षणभरमै ध्वस्त बनाइदिएको उहाँले गुनासो गर्नुभयो । आफ्नो ६७ वर्षको उमेरमा यस्तो आतंक मच्चाउने आन्दोलन र लुटपाट अहिलेसम्म नदेखेको बताउँदै न्यौपानेले घर जलेको भन्दा पनि आफ्ना महत्वपूर्ण इतिहासहरु खरानी भएकोमा चिन्ता व्यक्त गर्नुभयो । यस्ता आतंककारीहरुलाई पहिचान गरि कारबाही गर्नुपर्नेमा उहाँको जोड थियो ।

धुलिखेलका प्रमुख अशोक व्याञ्जुको घरमा पनि आन्दोलनकारीले आगजनी गरेका छन् । उनीहरुले राजनीतिक प्रतिशोध साँधेर आगजनी गरेको बताउँदै प्रमुख व्याञ्जुले अपराधमा संलग्नको पहिचान गरि कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

काभ्रेपलाञ्चोकका विभिन्न १८ सरकारी तथा निजी संरचनामा क्षति
‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको छ । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको स्थानीय प्रशासनको प्रारम्भिक विवरणमा जनाइएको छ।
प्रदर्शनका क्रममा बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्वपूर्ण कागजात र सवारी साधन पूर्णरुपमा क्षति पुर्याइएको छ । यस्तै इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटीसहितका प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको कार्यालयले जनाएको छ । बनेपा नगर कार्यालय भने भग्नावशेषमा परिणत भएको छ ।

प्रदर्शनकारीले पनौती नगर र पाँचखाल नगर कार्यालय तथा सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको कार्यालयमा समेत तोडफोड गरेका छन् । यसैगरी नेपाल कम्युनिष्ट पार्टी एमाले, काभ्रे र नेपाली कांग्रेसको बनेपास्थित कार्यालयमा तोडफोड गरी आगजनी हुँदा ठूलो क्षति भएको छ ।

प्रदर्शनकारीले जिल्लास्थित नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, पनौती नगरप्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा तथा पनौतीका पूर्वनगरप्रमुख भीम न्यौपानेका दुई घर, २ नं वडाका अध्यक्ष पुरुषोत्तम अधिकारी र व्यवसायी रामेश्वर थापाको पनौतीको कुशादेवीस्थित घरमा लुटपाट गरी तोडफोड तथा आगजनी गरेका छन् ।
प्रतिक्रिया