• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

गणेशमान सिंहको आज २८ औं स्मृति दिवसः जो पदका लागि कहिल्यै लडेनन्

गणेशमान सिंहको आज २८ औं स्मृति दिवसः जो पदका लागि कहिल्यै लडेनन्

  • ज्ञानमणि नेपाल कालोटोपी

काठमाडौं । गणेशमान सिंह (विसं१९७२–२०५४) नेपालका बरिष्ठ राजनीतिज्ञ हुन् । प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पनि थिए उनी ।

काठमाडौंको खानदानी परिवारमा जन्मिएका सिंहले विसं १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजापरिषद्को सदस्य भई राणाशासन हटाउने राजनीतिमा आफूलाई सर्मपण गराए । भद्रगोल जेल तोडेर भागेका गणेशमान प्रबास जानु अघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भैसकेका थिए । भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित भएपछि अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको थियो ।

विसं। २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील रहे । पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबास भोगे । त्यसपछि पुनः प्रबासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यवस्थाका विरूद्ध सक्रिय रहे ।

तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । ०३९ सालमा बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो ।

राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायतबिरूद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए । पार्टीभित्र कुनै पनि पदको लोभ नभएका निडर र हक्की स्वभावले गणेशमान सधैं सबैका प्रिय बने । जीवनको उतरार्धतिर उनी पार्टीबाट केही असन्तुष्ट रहँदै पार्टीका कुनै पनि भूमिकामा रहन चाहेनन् । उनको निधन ०५४ असोज २ गते भएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २, बिहीबार ०२:३५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP