काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्वलाई लक्षित गरी देशव्यापीरूपमा विशेष निरीक्षण तथा अनुगमन सञ्चालन गरेको छ ।
विभागले असोज ४ गतेदेखि असोज ९ गतेसम्म गरेको अनुगमनमा ३५१ वटा किराना पसल, ६३ वटा खाद्य उद्योग र २७९ वटा राजमार्ग केन्द्रित होटल रेस्टुरेन्टहरूको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा सङ्कलित नमुनाहरू थप अनुसन्धानका लागि प्रयोगशालामा पठाइएको छ ।
यसक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको विभागले १ लाख ३८ हजार २ सय ९१ रुपैंयाँ जरिवाना असुल गरिएको जनाएकाे छ । यस्तै ८५ जार प्रशोधित पिउने पानी पनि नष्ट गरेको छ ।
स्थलगत अनुगमन र परीक्षणमा कैफियत देखिएका व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएका, स्पष्ट लेबल विवरण नभएका, स्थलगत परीक्षणमा कैफियत देखिएका र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत रहेका व्यवसायहरूलाई जरिवाना गरिएको हो ।

प्रतिक्रिया