काठमाडौँ । असोज ६ गते घटस्थापनाका दिनदेखि शनिबारसम्म दुई लाख ६७ हजार ४४१ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
अध्ययन/अध्यापन, व्यापार व्यवसाय तथा विभिन्न कामका लागि काठमाडौँ आएकामध्ये शनिबारसम्म दुई लाख ६७ हजार ४४१ जनाले काठमाडौँ उपत्यका छोडेका प्रहरीले जनाएको छ ।
नागरिक उपत्यका छोडेर गृह जिल्लातर्फ जान थालेपछि अहिले उपत्यकामा सवारी चाप क्रमिकरूपमा घट्दै गएको छ भने राजमार्गमा सवारी चाप बढ्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
असोज ६ गते (घटस्थापना) का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४, असोज ८ गते ५७ हजार ५५९, असोज ९ गते ५६ हजार ९०६, असोज १० र ११ गतेसम्म ७२ हजार २३९ जनाभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छोडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए ।
घटस्थापनाका दिनदेखि आजसम्म काठमाडौँ उपत्यकाबाट ४५ हजार ४९३ सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ । यसैगरी यस अवधिमा काठमाडौँ उपत्यकामा ४१ हजार ५१४ वटा सवारीसाधन भित्रिएका छन् । कूल एक लाख ५६ हजार ७८६ जना यात्रुहरू काठमाडौँ भित्रिएका प्रहरी उपरीक्षक सुवेदीले बताए । यो तथ्याङ्क थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट गन्तव्यस्थलतर्फ गएका र भित्रिएका यात्रुरूको हो ।
प्रतिक्रिया