बनेपा । नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भएसँगै गाउँ फर्कनेहरुकाे संख्या बढिरहेको छ। यतिबेला काठमाडौंका प्रमुख नाका क्षेत्रमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ । गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडीबुटी क्षेत्रमा बस कुर्नेहरूको भीड लाग्ने गरेको छ।
यसैबीच पूर्वी नेपाल जानेहरुकाे भीड काभ्रेकाे बनेपामा पनि धेरै नै छ। आज बिहानैदेखि बनेपाबाट पूर्व रामेछाप, सिन्धुली, दाेलखा, सिन्धुपाल्चाेकका साथै बीपी राजमार्ग हुँदै बर्दिवासबाट तराई जानेहरुकाे भीड बनेपामा उच्च छ ।

घटस्थापनाका दिनदेखि नै गाउँ जानेहरुकाे संख्या उच्चरुपमा बढेकाे भएपनि शनिबार र आइतबार भीड बढेकाे ट्राफिक प्रहरीले जनाएकाे छ । यात्रुहरुकाे भीड बढेसँगै ट्राफिक व्यवस्थापनमा केही समस्या भइरहेकाे भए पनि धेरै जाम भने नभएकाे पाइएकाे छ ।

यसैबीच असोज ६ गते घटस्थापनाका दिनदेखि शनिबारसम्म दुई लाख ६७ हजार ४४१ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । अध्ययन/अध्यापन, व्यापार व्यवसाय तथा विभिन्न कामका लागि काठमाडौँ आएकामध्ये शनिबारसम्म दुई लाख ६७ हजार ४४१ जनाले काठमाडौँ उपत्यका छोडेका प्रहरीले जनाएको छ ।

नागरिक उपत्यका छोडेर गृह जिल्लातर्फ जान थालेपछि अहिले उपत्यकामा सवारी चाप क्रमिकरूपमा घट्दै गएको छ भने राजमार्गमा सवारी चाप बढ्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

असोज ६ गते (घटस्थापना) का दिन ४० हजार ९२३, असोज ७ गते ३९ हजार ८१४, असोज ८ गते ५७ हजार ५५९, असोज ९ गते ५६ हजार ९०६, असोज १० र ११ गतेसम्म ७२ हजार २३९ जनाभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छोडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश सुवेदीले जानकारी दिए ।

तस्बीरहरुः ज्ञानमणि नेपाल कालाेटाेपी
प्रतिक्रिया