काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितीमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने बताएका छन् । बडा दशैंको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान र आकांक्षाबाट बनेको ऐतिहासिक संविधानमार्फत् मुलुकमा स्थिरता, शान्ति र प्रगति सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् । उनले दिएकाे शुभकामना यस्ताे छः
बडा दशैं २०८२ को शुभ–कामना
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा निहित बन्धुत्व भावले यी विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । हरेक बडा दशैंले समुदाय, संस्था, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ ।
गत भाद्र २३ र २४ गते देशमा जेएनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा कयौं युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएका छन् । नेपाल आमाका ती बीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । प्रदर्शनका क्रममा भएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । भाद्र २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरू लगायत अन्य सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर—डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै नेपालको उन्नति र प्रगतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक संरचनाहरूको तोडफोड, आगजनी र लुटपाटबाट खर्बैंको क्षति भएको छ । नेपालको इतिहासमा यो अत्यन्त अल्कपनीय र दुःखद घटनाको रूपमा रहेको छ ।
संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ । सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधि मार्फत् बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित छ । नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ । यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।
दशैं हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको छ । सदा झैं यसपटकको बडा दशैंले समुदाय, संस्थाहरू, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ मजबूत बनाउंन हामीलाई प्रेरित गर्न सकोस् ।
बडा दशैं २०८२ को यो पावन अवसरमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति
असोज १३, २०८२
प्रतिक्रिया