काभ्रे । बीपी राजमार्गमा बिहीबारदेखि पाँच दिनसम्म रातको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढीपहिरोको उच्च जोखम पूर्वानुमान गरेपछि सवारी साधन आवतजावतमा रोक लगाइएको हो ।
जिल्ला विपद् ब्यवस्थापन समिति काभ्रेपलाञ्चोकको पछिल्लो बैठकले उक्त राजमार्गमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
समितिले साँझ पाँच बजेदेखि भोलिपल्ट बिहान पाँच बजेसम्मको अवधिमा सवारी साधन नचलाउन भनेको छ। राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङदेखि भकुण्डे–सिन्धूलीसीमा नेपालथोकको सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो ।
समितिले हाल मनसुन सक्रिय रहेको अवस्थामा बीपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपिलसमेत गरेको छ ।
समितिका अनुसार काठमाडौँबाट जाने सवारीलाई काभ्रे जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सीमाना नेपालथोकमै रोकिने छ । गत वर्षको बाढीपहिरोले यस राजमार्गको ३० किलोमिटर सडक क्षतिग्रस्त छ ।
प्रतिक्रिया