काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आजदेखि एजेण्डामा छलफल हुने भएकाे छ । बैठक दिउँसो १ बजेदेखि पार्टी मुख्यालय बीपी नगर सानेपामा बस्नेछ । गत मंगलबारदेखि शुरु भएको बैठकको पहिलो दिन सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएपछि अन्य विषय प्रवेश भएको थिएन ।
देउवाले कार्यकारी पद त्याग्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएका छन् । यस्तै महाधिवेशन प्रतिनिधिहरुले मंसिरमा विशेष महाधिवेशन गर्न माग गर्दै संकलित हस्ताक्षर बुधबार कार्यबाहक सभापति खड्काले बुझेका छन्।
नियमित महाधिवेशन वा विशेष महाधिवेशन गरी नयाँ नेतृत्व लिएर चुनावी मैदानमा जानुपर्ने भन्दै महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी महाधिवेशन गर्न माग गरेका हुन् । केन्द्रीय समिति बैठकको मुख्य एजेण्डा नै महाधिवेशन भएसँगै आजदेखि घनिभूतरुपमा छलफल हुनेछ ।
पार्टीको विधानअनुसार चार चार वर्षमा नियमित चुनावी महाधिवेशन गर्नुपर्ने हुन्छ । १४ औँ महाधिवेशन २०७८ सालको मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौँमा भएको थियो । सोही हिसाबले पनि मंसिर अन्तिमसम्ममा १५ औँ महाधिवेशन हुनुपर्नेछ । पार्टीलाई जेनजी आन्दोलनपछि नयाँ नेतृत्वसहित चुनावमा होमिनु पर्ने भएकाले नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्न माग गर्दै ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका छन् ।
प्रतिक्रिया