धुलिखेल। नेपाली कांग्रेसको धुलिखेलमा सम्पन्न बागमती प्रदेशस्तरीय भेलाले ३३ बुँदे संकल्प पारित गरेको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित बागमती प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी र जनप्रतिनिधिको भेलाका सहभागीबीच भएको संवाद, विषयगत छलफल र विस्तृत अन्तर्क्रियाका आधारमा बागमती प्रदेशका प्रदेश तथा स्थानीय सरकारको नेतृत्व र पार्टीको नेतृत्वले ३३ बुँदामा संकल्प गरेका हुन् ।
जेठ ४ र ५ मा चलेको भेलामा केन्द्रीय कार्यसमितिमा रहेका बागमती प्रदेशभित्रका सबै पदाधिकारी एवं सदस्य, बागमती प्रदेश कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्य, बागमती प्रदेश सभाका सरकार र प्रदेश सभामा रहेका सबै सदस्य सहभागी थिए ।
यसका साथै प्रदेशभित्रका सबै जिल्ला सभापति, जिल्ला समन्वय समितिका निर्वाचित प्रमुख, उपप्रमुखहरू, पालिकामा निर्वाचित प्रमुख, उपप्रमुखहरू, पालिकाको पार्टी सभापतिहरू र काभ्रे जिल्ला कार्यसमितिका पदाधिकारी एवं महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरू, प्रतिनिधिसभा क्षेत्रीय सभापतिहरू, प्रदेशसभा क्षेत्रीय सभापतिहरू र पालिकाका पार्टी सभापतिहरू सहभागी थिए ।
नेपाली कांग्रेसको नेतृत्वमा बागमती प्रदेश सरकार र स्थानीय सरकारले शुरु गरेका असल अभ्यास र नवीन सिर्जनात्मक अभियानहरूलाई सूचीबद्ध गरी नागरिक पङ्तिमा पुर्याउने र एक स्थानीय तहले गरेका असल अभ्यासलाई अन्य स्थानीय तहमा समेत ग्रहण गर्ने संकल्पमा उल्लेख छ ।
यस्तै बागमती प्रदेश सरकारको संरचनात्मक रुपान्तरण र व्यबस्थापकीय सुधार गर्न अनावश्यक संरचना खारेज वा समायोजन गरी स्थानीय सरकारबाट गर्न सकिने कार्य स्थानीय सरकारसँगको साझेदारीमार्फत सेवा प्रवाहलाई जनताको घर आँगनमा पुर्याउने संकल्पकाे अर्काे बुँदामा उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया