• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

अन्नपूर्ण क्षेत्रमा एक महिनामै भित्रिए ३० हजार बढी विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा एक महिनामै भित्रिए ३० हजार बढी विदेशी पर्यटक

गण्डकी । गत असोजमा ३० हजार ५४७ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका १० हजार १९ र अन्य देशका २० हजार ५२८ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।

गत वर्ष असोजको तुलनामा यस वर्ष १८५ पर्यटक कम आएका छन् । गत भदौमा भएको ‘जेनजी’ प्रदर्शन र त्यसपछि मौसमको अवरोधका कारण भारतीय पर्यटक आगमन घटेको हाे । आर्थिक वर्ष २०८०/०८१ मा २८ हजार ७०५ र आव २०८१/८२ को असोजमा ३० हजार ७३२ जना पर्यटक यस क्षेत्रमा भित्रिएका थिए ।

असोज र कात्तिकलाई मुख्य पर्यटकीय याम मानिने यहाँ कात्तिकमा पर्यटक आगमन थप बढ्ने अपेक्षा गरिएको छ। पर्यटकीय यामसँगै मुख्य चाडपर्व र बिदाको समय पनि पर्ने भएकाले यो समयमा आन्तरिक पर्यटकको आगमन पनि बढ्ने गरेको छ।

तिहार लगत्तै मुस्ताङसहित आसपासका क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यो याममा विदेशी पर्यटक पदयात्राका लागि यस क्षेत्रमा आउने गर्दछन्। गत वर्ष कात्तिकमा ३३ हजार ३१० विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए।

यस याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोरेपानी, पुनहिलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिने आयोजनाले जानकारी दिएकाे छ।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन्। अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वमै प्रसिद्ध मानिन्छ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ८, शनिबार १२:३३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP