काठमाडौँ । राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ललितपुर जिल्ला, ललितपुर महानगरपालिका-९ बस्ने पाँचथर घर भएका २६ वर्षीय सन्जय आङ्देम्बे, काठमाडौँ शंखरापुर नगरपालिका-६ बस्ने ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, काठमाडौँ महानगरपालिका-३२ बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय प्रेमबहादुर लामा र काठमाडौँ महानगरपालिका-२८ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
यस्तै काठमाडौँ महानगरपालिका-२६ बस्ने सुर्खेत घर भएका २९ वर्षीय टेकबहादुर सुनार, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने दोलखा घर भएका ३० वर्षीय साजन श्रेष्ठ, काठमाडौँ नागार्जुन नगरपालिका-६ बस्ने रामेछाप घर भएका ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय जीवन लामा रहेका छन् ।
राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीहरूलाई राहदानी छिटोछरितो बनाइदिने भनी विश्वास दिलाई अतिरिक्त रकम लिई दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारबाहीमा अवरोध पुर्याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
प्रतिक्रिया