काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि सुरु भएको मतदाता नामावली दर्ता प्रक्रियामा उत्साह देखिएको छ । निर्वाचन आयोगका अनुसार आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाताले नामावली दर्ताका लागि निवेदन दिएका छन् ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले सरकारले अध्यादेशबाट नामावली दर्ता प्रक्रिया सुरु गर्ने घोषणा गरेयता आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ता गराएका हुन् ।
भदौ २७ गते निर्वाचन घोषणा भएलगत्तै गृह मन्त्रालयले मतदाता नामावली दर्ता खुलाउन निर्वाचन आयोगसँग आग्रह गर्दै कानुन संशोधनको तयारी गर्यो । आयोगको सुझावमा सरकारले अध्यादेशमार्फत कानुन संशोधन गरेकाे थियाे । अध्यादेशले ‘प्रतिनिधि सभाको कार्यकाल पुरा हुनुअगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा त्यस्तो निर्वाचनको प्रयोजनका लागि अवधि तोकी मतदाता नामावली सङ्कलन, दर्ता तथा त्यसको अद्यावधिक गर्न सक्ने व्यवस्था गरेको थियो । सुरुमा कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्ने समयसीमा राखेको आयोगले सरकारको आग्रहमा सो म्याद मङ्सिर ५ गतेसम्म थप गरेको थियो ।
आयोगको वेबपोर्टलमार्फत अनलाइन प्रविधिबाट तीन लाख ४४ हजार ९१४ जनाले नामावली दर्ता गराएका छन्, जसमध्ये एक लाख ९२ हजार ८९० जना पुरुष, एक लाख ५१ हजार ९८० जना महिला तथा ४४ जना अन्य मतदाताले नामावली दर्ता गराएका छन् ।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट चार लाख ९२ हजार १८० जनाले नामावली दर्ता गराएका छन्, जसमध्ये दुई लाख ८० हजार ३६५ पुरुष, दुई लाख ११ हजार ७९८ महिला र १७ अन्य छन् । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रविधिको उपयोगले मतदाता नामावली दर्ता प्रक्रिया थप सहज र सरल बनाएको बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र वाहक नागरिकले राष्ट्रिय पञ्जीकरण विभागबाट दर्ता गराउँदा बायोमेट्रिक दिन नपर्ने हुँदा नामावली दर्तामा थप उत्साह देखियो । आयोगको पोर्टलबाट करिब ५५ दिनमा दर्ता भएको सङ्ख्याभन्दा करिब एक लाख ५० हजारभन्दा बढी नागरिकले पञ्जीकरण विभागबाट सुरु भएको एक सातामै नामावली दर्ता गराएका छन् ।
आयोगको कात्तिक १८ गतेसम्म अद्यावधिक विवरण अनुसार मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० जना रहेकोमा मङ्सिर ५ गतेसम्म आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा मतदाताको सङ्ख्या एक करोड ९० लाख पाँच हजार ३२४ पुगेका छन् । अन्यतर्फ यसअघि १८७ मतदाता रहेकोमा सो सङ्ख्या २४८ पुगेको छ । गाेरखापत्रबाट
प्रतिक्रिया