सिन्धुपाल्चोक। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा सिन्धुपाल्चाेककाे चौतारा साँगाचोकगढी नगरपालिकाले न्यायिक समितिको भूमिका, काम–कर्तव्य र अधिकारबारे सर्वसाधारणलाई सहज र प्रभावकारीरूपमा जानकारी गराउन सडक नाटक प्रदर्शन कार्यक्रम सुरु गरेको छ।
कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन गरिने र सोही अनुरूप साेमबार बतासे, कुभिण्डे र मेलचाैरमा नाटक देखाइएको न्यायिक सहजकर्ता करिष्मा सापकोटाले जानकारी दिनुभयाे । उहाँका अनुसार सडक नाटकमार्फत हिंसा, महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहार, सामाजिक विवाद, उजुरी प्रक्रिया, स्थानीय तहले गर्न सक्ने मध्यस्थता र पीडितको पहुँचबारे सरल भाषामा प्रस्तुत गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
कार्यक्रममा नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक सीता थापाले जनसमुदायमा न्यायिक समिति र यसको भूमिकाबारे कम जानकारी भएको बताउँदै यस्ता चेतनामूलक नाटकले समुदायसम्म न्यायिक समितिको काम कर्तव्य र अधिकारसम्बन्धी जानकारी प्रवाह गर्ने अपेक्षा रहेको बताउनुभयाे । न्यायिक समिति भनेकाे के हाे, यसले के के गर्छ र समितिका कामहरुका बारेमा जानकारी दिनका लागि नाटक देखाइने र पालिकाका विभिन्न १० ठाउँमा नाटक प्रदर्शन गरिने पालिका उपप्रमुख थापाले जानकारी दिनुभयाे । सर्वसाधारणहरूले पनि नाटकलाई निकै ध्यानपूर्वक अवलोकन गर्दै आएका उहाँकाे भनाइ थियाे ।
त्यसैगरि न्यायिक समिति सदस्य रामशरण अधिकारीले अन्य तरिकाबाट भन्दा नाटकीय ढंगबाट सूचना प्रवाह गर्दा बढी प्रभावकारी रहने बताउनुभयाे । उहाँले यो कार्यक्रम विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको र यस पटकको कार्यक्रम विद्यालय र विद्यार्थी केन्द्रित गर्ने निर्णयले यसलाई अझ प्रभावकारी र उपलब्धिमुलक बनाउने उद्देश्य रहेको बताउनुभयाे ।

सडक नाटकमा ‘आवाज आर्ट क्रिएशन प्रा.लि.’ ले प्रस्तुति दिँदै आएको छ। चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, जनप्रतिनिधि र सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेकाे थियाे । कार्यक्रमले समुदायमा लैङ्गिक हिंसा रोकथाम र न्यायिक प्रक्रियाबारे थप सकारात्मक वातावरण बनाएको आयोजकको भनाइ छ ।
प्रतिक्रिया