सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले करिब दुई करोड ६९ लाख ५० हजार रुपैयाँ बराबरका ७ हजार ७०० थान अवैध भेप (विद्युतीय चुरोट) सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार आइतबार बिहान करिब ४:३० बजे बाह्रबिसे नगरपालिका–३ खागदल क्षेत्रमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा जाँच गर्ने क्रममा भेप बरामद गरेको हो ।
तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बोलेरो गाडीमा लुकाइछिपाइ भन्सार छली गरी ल्याइँदै गरेको अवस्थामा ७ हजार ७०० थान भेप फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएको भेपको अनुमानित बजार मूल्य २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा जुगल गाउँपालिका–४ का ३६ वर्षीय राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीले भेप ओसारपसारमा प्रयोग भएको प्रदेश ३–०१–०२४ च १२११ नम्बरको बोलेरो गाडीसमेत नियन्त्रणमा लिएको छ । उक्त गाडीको अनुमानित मूल्य १५ लाख रुपैयाँ रहेको बताइएको छ ।
पक्राउ परेका श्रेष्ठ, बरामद भेप तथा गाडीलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरीले भन्सार छली गरी अवैधरूपमा सामान ओसारपसार गर्नु कानुनविपरीत कार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालयमा सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रतिक्रिया