काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ ठमेल क्वावहाल चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ५० ट्याब्लेटसहित काठमाडौँ नयाँबजार धारागल्ली बस्ने नवलपरासी पूर्व घर भएका २८ वर्षीय सचिन केसीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले प्रदेश ३-०२-००८ प २२५३ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार स्कुटर चालकको खोजी गरिरहेको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१७ कोनियाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७६ किलोसहित रामेछाप खाडादेवी गाउँपालिका-१ बस्ने २८ वर्षीय सुवराज श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा.२१ च ७८५५ नम्बरको पिकअप जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुवराजलाई पक्राउ गरेको हो ।
रूपन्देही, ओमसतिया गाउँपालिका-४ बालापुरबाट अवैध लागूऔषध गाँजा ४ किलो ५ सय ग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय सराफत अलिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीसमेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३ सय एम्पुल, डाईजेपाम ३ सय १९ एम्पुल र फेनारगन ३ सय ५२ एम्पुलसहित अन्नपूर्ण गाउँपालिका-३ काडेँ बस्ने ४१ वर्षीय वीरेन्द्र तुलाचनलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया