काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने ३७ वर्षीया ममता श्रेष्ठ, ललितपुर गोदावरी नगरपालिका-१४ बस्ने काभ्रे पाँचखाल नगरपालिका-६ घर भएका ३० वर्षीय सरोज पोख्रेल र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने दोलखा भिमेश्वर नगरपालिका-७ घर भएका ४९ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन् ।
पक्राउ मध्ये ममताले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २३ लाख रूपैयाँ, सरोजले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६४ हजार रूपैयाँ र डम्बर बहादुरले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ममतालाई चन्द्रागिरी नगरपालिका-४ बाट र सरोजलाई गोदावरी नगरपालिका-१४ बाट बिहीबार तथा डम्बर बहादुरलाई गोकर्णेश्वर नगरपालिका-९ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
प्रतिक्रिया