• २०८३ असार ३२ | Thu, 16 Jul 2026

नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण छ : प्रहरी महानिरीक्षक कार्की

नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकहरूको अपार समर्थनका कारण सुरक्षाकर्मीहरूले सफलतापूर्वक काम गरिरहेको चर्चा गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ।

काठमाडौँकाे वसन्तपुरमा आइतबार आयोजित ‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले यस्ताे बताउनुभएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा भदौ २३ र २४ गतेको “नव पुस्ताको आन्दोलन” पश्चातको सन्दर्भमा नेपाल प्रहरीले सञ्चालन गर्दै आइरहेको समदुाय-प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनसुन्धान, नागरिक सुरक्षा, विपद उद्धार, सामाजिक सद्भाव तथा अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम-नागरिक र नयाँ पुस्तामा स्थापित गराउने अवधारणा अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सद्‌भावना दूतहरूलाई ब्यानर प्रदान गर्नुका साथै प्रहरी कार्यालय पुन:निर्माणमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मानसमेत गर्नुभयो । साथै सामुदायिक सेवा केन्द्र महांकालको सहकार्यमा विभिन्न समाजसेवी, स्थानीय व्यवसायी तथा नागरिकको सहयोगमा प्राप्त १ थान टोयटा हाइस गाडी प्रहरी महानिरीक्षक कार्की र सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठले संयुक्तरूपमा प्रहरी वृत्त जनसेवालाई हस्तान्तरण गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक कार्कीले यो अभियान नेपाल प्रहरीको मात्र नभई नागरिक र प्रहरीको साझा प्रयास भएको उल्लेख गर्दै यस्ता प्रयासले मात्र सुरक्षित समाज सिर्जना गर्ने कार्यमा सफलता मिल्ने बताउनुभयो । नागरिकको सौहार्दपूर्ण बोलीवचन व्यवहारले बस्ती, टोल र गाउँहरूमा सेवारत रहनको लागि प्रहरीलाई थप प्रेरित गर्ने बताउनुभयो । विगतमा भएका कमीकमजोरीहरूलाई सुधार गर्दै नागरिक र प्रहरीको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्ने कार्यमा प्रहरी सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा बागमती प्रदेशका पूर्वप्रदेश प्रमुख तथा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइराला, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, काठमाडौं महानगरपालिका-१७ का वडा अध्यक्ष नविन मानन्धर, वरिष्ठ कलाकार हरिवंश आचार्य, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, संगीतकार तथा गीतकार योगेश्वर अमात्य, कर्मयोग फाउण्डेसनका अध्यक्ष सौरभ रिमाल, अभियन्ता एवम् युवा समाजसेवी गणपतिलाल श्रेष्ठ, सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठ लगायतले कार्यक्रमको महत्व र प्रभावकारीताबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका-२३ का वडा अध्यक्ष मचाकाजी महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालयबाट ब्याण्ड डिस्प्ले, जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गर्नुका साथै कुमा सागर एण्ड द ख्वप ब्याण्डले सांगीतिक प्रस्तुतिसमेत गरेको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिती रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १४, सोमबार ०२:४१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP