काठमाडौँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । नवलपरासी पश्चिम, सुस्ता गाउँपालिका-३ सेख्वानाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ३० मिलमिग्रामसहित भारत कुशीनगर कप्तानगंज-११ बस्ने २२ वर्षीय अतुल चौधरीसमेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलटारीबाट खटिएको प्रहरीले युपि ५३ एएक्स ५५९४ नम्बरको कारलाई जाँच गर्दा उक्त पदार्थ फेला परी चालक चौधरीसमेत दुबै जनालाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १ ग्रामसहित सोही महानगरपालिका-१० भूमी प्रशासन चोक बस्ने ३० वर्षीय पप्पु रामलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय विराटानगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सप्तरी, सुरूङ्गा नगरपालिका-१ सुस्लिङ टोलबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५० ट्याबलेट, स्पास्मो प्रोक्सिभन ४० ट्याब्लेट, डाइजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १५ एम्पुल र फेनारगन १५ एम्पुलसहित उदयपुर त्रियुगा नगरपालिका-३ रामजानकीटोल बस्ने २२ वर्षीय रूपेशकुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले प्रदेश-१-०५-००१ प ९०८८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बारा, सिम्रौनगढ नगरपालिका-३ ब्रह्मस्थानबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पचरौता नगरपालिका-३ रामनगर बस्ने ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय पुनदेव पटेल रहेका छन् । इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगंज खजानीबाट खटिएको प्रहरीले ना. ५४ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९५ ग्राम ५ सय ९० मिलिग्रामसहित मोरङ विराटनगर महानगरपालिका-५ बस्ने ३४ वर्षीय महम्मद समसिरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले काठमाडौंबाट राजबिराजतर्फ जाँदै गरेको बा. ५ ख १९६७ नम्बरको हायस गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
जुम्ला, चन्दननाथ नगरपालिका-६ छिना गाउँ बस्ने २२ वर्षीय कविन्द्र रावललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ४० मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट अवैध लागूऔषध गाँजा करिब ५३ किलो ५ सय ७० मिलिग्रामसहित राक्सिराङ गाउँपालिका-९ अठारे बस्ने ३० वर्षीय हिरालाल प्रजा समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले चितवनबाट हेटौंडातर्फ जाँदै गरेको बा. प्र.०१-००६ ख ७७०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ताबाट नियन्त्रित लागूऔषध फेनारगन ३ एम्पुल, डाइजेपाम ३ एम्पुल र बुप्रेनोर्फिन ३ एम्पुलसहित सोही नगरपालिका-१२ बस्ने २४ वर्षीय सरोज मगर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लाहानबाट गाईघाटतर्फ जाँदै गरेको मधेश प्रदेश ०१-००१ ज ०२५० नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया