काठमाडौँ । पत्रकार ऋषि धमला फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने भएका छन् ।
आम जनता पार्टीका तर्फबाट टिकट पाएका धमलाको चुनाव चिह्न मोबाइल हुनेछ । उनी मनोनय दर्ताका लागि रौतहट पुगेका छन् ।
उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत यसकाे जानकारी दिएकी हुन् ।

उनले भनेकी छिन्, ‘आज मनमा गर्व पनि छ र अलि भारीपन पनि। वर्षौँसम्म क्यामेराअगाडि उभिएर सत्यका लागि लड्नुभएका मेरो जीवनसाथी ऋषि धमला आज जीवनकै एउटा ठूलो र नयाँ निर्णयतर्फ अघि बढ्दै हुनुहुन्छ। पत्रकारिता उहाँको पहिचान थियो तर जनताप्रतिको जिम्मेवारी उहाँको वास्तविक धर्म हो।
पत्रकारिता छोडेर राजनीतिमा होमिनु सहज पक्कै थिएन। यसबीचमा हामीले धेरै अनिँदा रातहरू काट्यौँ र निकै सोचविचार गर्यौँ। तर उहाँसँग भएको अनुभव, प्रखर बुद्धि र सत्यप्रतिको अडानले यो नयाँ यात्रामा पनि उहाँलाई सफल बनाउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।
आज आम जनता पार्टीको तर्फबाट मोबाइल चिन्ह लिई रौतहट क्षेत्र नं ४ मा उम्मेदवारी मनोनयनका लागि रौतहट जाँदै गर्दा म सधैँझैँ उहाँको साथमा छु। यो साथ मात्र हात समाएर होइन, अटुट विश्वास र संकल्पका साथ हो। यो यात्रा पदका लागि मात्र नभई जनताको सेवाका लागि हो। यस्तो पवित्र यात्रामा उहाँको सहयात्री बन्न पाउनु नै मेरो सबैभन्दा ठूलो शक्ति हो।’

प्रतिक्रिया