सिन्धुपाल्चाेक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न भएकाे छ । विभिन्न महत्वपूर्ण विधेयक, नियमावली तथा समसामयिक विषयमाथि छलफल गर्दै १८औँ गाउँसभा अधिवेशन सम्पन्न भएको हाे ।
अधिवेशनमा गाउँसभाको सचिवालय स्थापना तथा कार्यसञ्चालन विधेयक–२०८२, भाँगोजन्य पदार्थ संरक्षण तथा व्यवस्थापन विधेयक–२०८२, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०८२ तथा न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यविधिसम्बन्धी विधेयक–२०८२ माथि छलफल गरिएको थियो ।
त्यसैगरी न्यायिक समिति सञ्चालन नियमावली–२०८२, खड्कुले झरना संरक्षण तथा प्रवर्द्धन नियमावली–२०८२ र वैद्यनाथ मन्दिर संरक्षण तथा प्रवर्द्धन नियमावली–२०८२ समेत पास भएको छ । अधिवेशनमा बेरुजु फर्छाैट, बजेट संशोधन, करार कर्मचारीको म्याद थप, न्यायिक समितिको प्रतिवेदन तथा अनुमोदनसम्बन्धी विषयहरूमा पनि छलफल गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा कर्मचारीहरूको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया