सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडानम्बर ६ मा रहेकाे श्री तेर्से माध्यमिक विद्यालयले आफ्नो ३५औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर)को प्रमुख आतिथ्यतामा विद्यालयले आफ्नो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले तेर्से माध्यमिक विद्यालय जिल्लाकै नमुना समुदायिक विद्यालयको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गर्नुभयो । विद्यालयलाई सधैं प्राथमिकता दिने उल्लेख गर्दै मन्त्री तामाङले सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि तेर्से माध्यमिक विद्यालयबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो । अब एक वडा एक विद्यालय, एक वडा एक छात्रावासको अवधारणा अनुसार अगाडि बढ्ने हो भने शिक्षामा केही सुधार गर्न सकिने बताउनुभयो । उहाँले कतै दरबन्दी थुप्रिने र कतै अभाव हुने समस्याको समाधान हुने उल्लेख गर्नुभयो ।
मन्त्री तामाङले विकास आजको आजै र भोलिको भोलि नै नहुने भएकाले आफू निर्वाचित भइसकेपछि गरेका काम हेर्नका लागि आफ्नो पूरै कार्यकाल कुर्न आग्रह गर्नुभयो । धेरै कामको सुरुवात भइसकेको उल्लेख गर्दै आफ्नै कार्यकालमा धेरै काम सम्पन्न हुने जिकिर गर्नुभयो । हिजो निर्वाचनको समयमा गरेका बाचाहरु एक एक गरेर पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विद्यालयको समस्या र मुख्य चुनौती समाधानका लागि प्रदेशमा आवाज उठाइरहने बताउनुभयो । उहाँले ३०० सिट फर्निचरको लागि ब्यबस्थापनको जिम्मेवारीसमेत लिनुभयो ।
कार्यक्रमका अवसरमा नगरपालिकाका स्रोत विज्ञ योगबहादुर थापा, छिमेकी विद्यालयका प्रधानाध्यापक उद्ववप्रसाद लामिछाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक योगबहादुर अर्यालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । विद्यार्थी संख्याको अनुपातमा विषयगत शिक्षक दरबन्दी संख्या कमि हुनु, निजी स्रोतका शिक्षकका लागि अभिभावकसँग सहयोग लिनुपर्ने बाध्यता, आर्थिक स्रोतको अभाव, कक्षाकोठाका फर्निचर जीर्ण बन्दै जानु र करिब ३०० सेट फर्निचरका लागि १५ लाख ब्यवस्थापन गर्नु र विद्यालय बसको लागि चालक, मर्मत लगायतको खर्च आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न कठिन हुनुलाई विद्यालयले मुख्य चुनौतीको रुपमा अगाडि सारेको छ ।

कार्यक्रममा विधागतरुपमा उत्कृष्ट शिक्षक, उत्कृष्ट बिषय शिक्षक, एसइइ उत्तीर्ण उत्कृष्ट १५ विद्यार्थी विद्यालय बस खरिदमा सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष प्रेमबहादुर तामाङ, पूर्व वडा अध्यक्ष जितराज थापा, शैक्षिक व्यक्तित्व हरिकुमार शर्मा, जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक लगायत स्थानीय सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक राजन लामिछाने र रामभक्त दनुवारले गर्नुभएको थियो ।
वार्षिकोत्सवको अवसरमा शिक्षक, विद्यार्थी, कलाकार पदम दुलाल, मन्जु गौतम लगायतको प्रस्तुतिले मनोरञ्जन प्रदान गरेको थियो । विद्यालयको ३५औँ वार्षिक उत्सवको अवसरमा मेलम्ची नगरपालिका‚ हेलम्बु‚ इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिकास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि बिजेता इष्ट पोइन्ट एकेडेमी, दोस्रो भएको जाल्पादेवी मावि मेलम्ची-२ र तेस्रो भएको तेर्से माविलाई पुरस्कार वितरण गरिएको थियो ।
प्रथम‚ द्वितीय र तृतीय हुने समूहलाई क्रमशः २० हजार‚ १५ हजार र १० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका शिक्षक भिमबहादुर तामाङले जानकारी दिनुभयो । साथै अन्य प्रतियोगिताका विजेतालाई समेत पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया