मण्डनदेउपुर, काभ्रे । सेवक नेपाल बालगृह, मण्डनदेउपुर–९ धाइटारमा रहेका बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद तथा दैनिक जीवनमा सहयोग पुर्याउने उद्देश्यले पद्मश्री कलेज, तीनकुने काठमाडौंमा अध्ययनरत Hands of Hope Club ले विभिन्न सामग्री सहयोग गरेको छ ।
“Hands of Hope – Together We Make a Difference” भन्ने भावनाका साथ क्लबका विद्यार्थीहरूले बालगृहका ३८ जना बालबालिकालाई जनही लत्ताकपडा तथा ३८ थान स्कुल ब्याग प्रदान गरेका छन् । त्यस्तै, फुटबल, भलिबल, ब्याडमिन्टन, लुँडो, चेसलगायतका खेलकुद सामग्री, ब्रस, मञ्जन, नुहाउने साबुनलगायत सरसफाइ सामग्री तथा दाल, चामल, तेल, बिस्कुट, नुन र गेडागुडी लगायतका खाद्यान्नसमेत सहयोग गरिएको सेवक नेपाल परिवारले जनाएको छ ।
बालबालिकाका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराइएको थियो । सहयोग अभियानको नेतृत्व तथा प्रतिनिधित्व Hands of Hope Club की अध्यक्ष मञ्जुश्री नेपाल, सचिव शान्ता थापा, कोषाध्यक्ष बिपन घिमिरे तथा सदस्यहरू सुरेश विष्ट र विश्वम्भर ठाकुरले गरेका थिए । सेवक नेपाल परिवारले क्लबका सम्पूर्ण विद्यार्थी तथा अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ । यस अभियानलाई अघि बढाउन विद्यार्थीहरूलाई प्रेरणा, उत्साह, हौसला तथा अनुमति प्रदान गर्ने अभिभावकहरू, हेमन्त गौतम तथा पद्मश्री कलेज, तीनकुने काठमाडौंप्रति समेत सेवक नेपाल परिवारले विशेष धन्यवाद व्यक्त गरेको छ ।
जन्मदिनलाई सेवासँग जोड्ने प्रेरणादायी पहल
यसै अवसरमा काठमाडौं निवासी समाजसेवी भोजराज भट्ट र सीता भट्टका सुपुत्र तथा हाल अध्ययनका क्रममा अमेरिकामा रहेका युवराज भट्टको जन्मदिनलाई समेत सेवासँग जोडिएको छ । युवराज भट्टको जन्मदिनको अवसर पारेर उनका माता–पिताले सेवक नेपाल बालगृहका बालबालिकाका लागि दाल, चामल, तेल, गेडागुडी लगायतका खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
बालबालिकासँग खुसी बाँड्दै जन्मदिन मनाउने भट्ट परिवारको पहललाई सेवक नेपालले प्रेरणादायी कार्यका रूपमा लिएको अध्यक्ष बुद्धकुमार गाैतमले बताउनुभयाे । जन्मदिनको खुसी आफूमा मात्र सीमित नराखी अरूको जीवनमा समेत मुस्कान ल्याउने संस्कारले समाजमा मानवीय भावना र सहयोगको संस्कृतिलाई बलियो बनाउने सेवक नेपाल परिवारको भनाइ रहेकाे उहाँ बताउनुहुन्छ ।

सेवक नेपाल परिवारले युवराज भट्टलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु, सफलता तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै सहयोगी सम्पूर्ण मनहरूप्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ । “सेवा नै धर्म हो, सेवा नै कर्म हो” भन्ने भावनासहित सेवक नेपालले बालबालिकाको संरक्षण, शिक्षा तथा समग्र विकासका लागि सहयोग र सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
प्रतिक्रिया