काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट करिब ४० ग्राम तौलको सुन जस्तो देखिने धातुको बिस्कुट ४ थानसहित फिनल्याण्डका नागरिक ६४ वर्षीय IMTIAZ AHMED आइतबार बेलुकी पक्राउ परेका छन् ।
एयर इन्डियाको उडानद्वारा भारतको दिल्लीबाट काठमाडौं आएका उनलाई जाँच गर्दा उनको ब्यागबाट उक्त धातु फेला परेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ बोहोरे बस्ने ८१ वर्षीय चन्द्र बिक्रम राई र उनकै श्रीमती ८० वर्षीया चन्द्र माया राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ डल्लु लखतीर्थ मार्ग डेरा गरी बस्ने ओखलढुंगा चिशंखुगढी गाउँपालिका-६ घर भएका ३४ वर्षीय धनबहादुर राना मगरसमेत २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
चन्द्र बिक्रम र उनकै श्रीमती आफ्नै घरमा गत माघ १२ गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-१५ डल्लु लखतीर्थ मार्गबाट पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत ओखलढुंगाबाट ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) तथा डाँका चोरी मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
सप्तरी, बलान बिहुल गाउँपालिका-४ बेल्हीबाट स्रोत नखुलेको नगद १३ लाख रूपैयाँ सहित भगवानपुर गाउँपालिका-४ बस्ने २३ वर्षीय हरीशंकर कुमार साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको प्र.२-०१-००२ प ४४८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया