काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका-४ घर भएका ५६ वर्षीय महेश तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
महेशले हंगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ
सुनसरीकाे धरान उपमहानगरपालिका-१० सेवालुङ चोक बस्ने २६ वर्षीय सन्दिप राईसमेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ८ ट्याब्लेट र स्पास्पेन २ सय ८ ट्याब्लेटसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी चौकी श्याम चोकबाट खटिएको प्रहरीले सन्दिपको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, कनकाई नगरपालिका-८ बालुवाटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय अजय राजवंशीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पेस्तोलसहित एक जना पक्राउ
काठमाडौँकाे चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान र गोली ४ राउण्डसहित कीर्तिपुर नगरपालिका-२ बस्ने ३० वर्षीय केयुर पुरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१९ च ६९० नम्बरको कार तलासी गर्दा उक्त पेस्तोल फेला पारी कारमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराह्रक्षेत्र नगरपालिका-७ बस्ने ६४ वर्षीय प्रमानन्द पौडेललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पौडेलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया