बुटवल । बुटवलमा नमुना संघीय संसदको अभ्यास कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रगतिशील युवा सञ्जाल रुपन्देहीको आयोजनामा दुई दिने प्रथम लुम्बिनी प्रदेशस्तरीय नमुना संघीय संसदको अभ्यास बुटवलमा सम्पन्न भएको हो । युवाहरुको यो अभ्यासले संविधान, संसदीय कार्य र लोकतान्त्रिक पद्धतिको तल्लो तहमा सिकाई भएको छ ।
पहिलो दिन नेपालको संसदिय पद्धति, कानुन निर्माणको प्रक्रिया, संसदको अधिबेशन आह्वानदेखि अन्त्यसम्मको विषयहरुमा प्रशिक्षण तथा नमुना निर्वाचन सम्पन्न भएको थियो । दोस्रो दिन संसदकै झल्को दिने गरी संसदीय अभ्यास सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष आकाश ओलीकाे अध्यक्षतामा भएको समापन सत्रमा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता यमलाल खनालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले कानुनका विद्यार्थीको लागि नमुना संसद कार्यक्रमले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान लिनमा सहयेग पुग्ने बताए । वर्तमान अवस्थामा कानुनका विद्यार्थीहरु संविधान, बिधिको शासन एवं लोकतन्त्रको रक्षामा लाग्नुपर्ने उनकाे भनाइ छ ।
त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल का निर्देशक अधिवक्ता बद्रीप्रसाद शर्मा गौतम, पिपिएलए रुपन्देहीका सचिव अधिवक्ता मेघनाथ खनाल, अनेरास्ववियु रुपन्देहीका सचिव सरोज खनाल, युवा अधिवक्ता नवीन खनाल, आरम्भ कानुन शिक्षा केन्द्र बुटवलका सञ्चालक सुनिल पौडेल लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्रध्यापक समेत रहनुभएका पिपिएलए रुपन्देहीका सचिव मेघनाथ खनालले नेपाल प्रगतिशील युवा सञ्जाल देशभरबाट रुपन्देहीमा आएर विभिन्न विश्व विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जोडने काम गरेको बताए ।

देशका करिब ३५ बढी जिल्लाका ९० जना सहभागीरहेको कार्यक्रममा उत्कृष्ट वक्ताको रुपमा निर्जना थारु र लक्की पुन, उत्कृष्ट अनुसन्धानकर्ता अङ्किता पराजुली र खेमप्रसाद आचार्य एवं उत्कृष्ट नेतृत्वकर्ताको रुपमा तेजबहादुर विकलाई पुरस्कृतसमेत गरिएको छ ।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष आकाश ओलीले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यवाद दिँदै देशका युवाहरु भिडको पछि नभएर सत्यको पक्षमा अगाडि बढी देशलाई निकाश दिनुपर्ने समय आएको बताउनुभयो । संस्थाका उपाध्यक्ष ललित बुढामगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव टोपजंग बुढाथोकीले गर्नुभएको थियो ।
प्रतिक्रिया