काठमाडाैँ । आज ७५ औँ प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ। महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको बलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको थियो ।
नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ।
सहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै हरेक वर्ष नेपालमा प्रजातन्त्र दिवस मनाइन्छ।
प्रजातन्त्र दिवसको अवसरमा आज देशैभरि सरकारी र गैरसरकारी निकायले विभिन्न कार्यक्रम गर्दैछन् भने सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेलको सहभागीतामा विशेष कार्यक्रम गर्दैछ ।
प्रजातन्त्र दिवसकै उपलक्ष्यमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन् ।
विसं २००७ को क्रान्ति सफल भएर निरङ्कुशताविरुद्ध बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरूप मानवअधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ।
प्रतिक्रिया