काठमाडौँ । गणेशमान सिंह (वि.सं.१९७२–२०५४) नेपालका वरिष्ठ राजनीतिज्ञ हुन् । प्रजातान्त्रिक योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर पनि थिए उनी। उनको जन्म वि.सं.१९७२ कार्तिक २४ गते भएको थियो।
काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले वि.सं. १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजापरिषद्को सदस्य भई राणाशासन हटाउने राजनीतिमा आफूलाई सर्मपण गराए । भद्रगोल जेल तोडेर भागेका गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनका एक नायक भइसकेका थिए।
भारतमा अर्का नेता बीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित भएपछि अन्य केही सहयोगीसाथ २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन नेतृत्व दिन गणेशमानको उल्लेखनीय भूमिका रहेको थियो।
विसं. २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए। संघर्षका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहे ।
पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबास भोगे। त्यसपछि पुनः प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यवस्थाका बिरूद्ध सक्रिय रहे।
तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । ०३९ सालमा बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए। १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो।
राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायतबिरूद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए । पार्टीभित्र कुनै पनि पदको लोभ नभएका निडर र हक्की स्वभावले गणेशमान सधैं सबैका प्रिय बने । जीवनको उतरार्धतिर उनी पार्टीबाट केही असन्तुष्ट रहँदै पार्टीका कुनै पनि भूमिकामा रहन चाहेनन्। उनको निधन ०५४ असोज २ गते भएको थियो। उनका छोरा प्रकाशमान सिंह अहिले नेपाली कांग्रेस वरिष्ठ नेता हुन् ।
प्रतिक्रिया