काठमाडौँ। अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ३ किलो ४ सय ३५ ग्रामसहित थाइल्याण्डका नागरिक ३९ वर्षीय YONGYUT THUION लाई गए राति प्रहरीले पक्राउ गरेको छ । थाइ एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला परेको हो । उनलाई थप आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।
कैलाली, टीकापुर नगरपालिका-९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका-१ बस्ने ३० वर्षीय सागर रावल र १९ वर्षीय जिबन कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प ८४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैँचा नगरपालिका-५ बलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४९ मिलिग्रामसहित सोही नगरपालिका-६ जब्दी बस्ने २४ वर्षीय बिपिन दाहाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ कन्चनलाइनस्थित शिखर खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय १० ट्याब्लेट, स्पास्पेन २ सय ९० ट्याब्लेट र डिकोलिक ३ सय २० ट्याब्लेटसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय अजय खड्गी र ३१ वर्षीय विशाल राई रहेका छन् । अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ ग्राम ७ सय ७० मिलिग्रामसहित अर्जुनधारा नगरपालिका-११ बसपार्क डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोल घर भएका ३१ वर्षीय सनम बुर्जा मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ जुटमिलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ५० मिलिग्रामसहित विराटनगर महानगरपालिका-१५ बस्ने २९ वर्षीय मोहन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-९ बस्ने २७ वर्षीय देबेन्द्र खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम र डिजिटल तराजु १ थानसहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ६ सय ५० मिलिग्रामसहित कृष्णपुर नगरपालका-७ कलुवापुर बस्ने २४ वर्षीय भिम रानालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-००८ प९७३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रानालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया