• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

न्यूनचापीय प्रणाली नेपालबाट बाहिरियाे, मौसममा क्रमिक सुधार आउने

न्यूनचापीय प्रणाली नेपालबाट बाहिरियाे, मौसममा क्रमिक सुधार आउने

काठमाडौँ । न्यूनचापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा क्रमिक सुधार आउन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बंगालको खाडीबाट विकसित न्यूनचापीय प्रणालीको प्रभावले २०८२ असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा अविरल वर्षा भएको थियाे । यस अवधिमा विशेषगरी मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा र कोशी प्रदेशका कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ।

यद्यपी, अझै पनि आकस्मिक बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै विभागले आफ्ना वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर ११५५ र एसएमएस सेवामार्फत नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

अविरल वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, कमला, लालबकैया लगायतका नदीमा जलसतह खतरा तह नाघेको र हाल भने घट्दो अवस्थामा रहेको विभागले जनाएको छ ।

त्यस्तै, असोज १९ गते बिहान सापेक्षरूपमा सुनकोशी नदी र यसका सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा समेत खतरा तह नाघेर अहिले घट्दो अवस्थामा पुगेको छ।

वाढीपहिराेबाट ४३ जनाकाे मृत्यु

असाेज १७ गतेदेखि हालसम्म भइरहेकाे वाढीपहिराेबाट आज दिउँसाे २ बजेसम्म ४३ जनाकाे मृत्यु भएकाे छ। राष्ट्रिय विपद् जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दिएकाे पछिल्लाे तथ्यांक अनुसार पहिराेमा परेर इलाममा ३७ जना, खाेटाङ र उदयपुरमा खाेलाले बगाएर एक / एक जना तथा राैतहटमा चट्याङ लागेर तीन जना र पाँचथरमा एक जनाकाे मृत्यु भएकाे हाे ।

यस्तै इलाममा एक र रसुवामा चार जना गरि ५ जना बेपत्ता भएका छन्, १२ जना घाइते छन् । प्राधिकरणले दिएकाे जानकारी अनुसार इलाममा पहिराेमा परेर चार जना, पाँचथरमा एक जना, भाेजपुरमा चट्याङ लागेर तीन जना, खाेटाङमा तीन र मकवानपुरमा एक जना चट्याङ लागेर घाइते भएका छन्।

 



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन १९, आईतवार ०९:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP