रौतहट । चन्द्रपुर नगरपालिका-५ स्थित जगत रिसोर्ट होटलबाट नक्कली सुन जस्तो देखिने धातु ७ थानसहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल दार्जलिङ मटिघारा ग्राम पंचायत-३ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-३ घर भएका ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका-१० बस्ने ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका-६ बस्ने ३८ वर्षीय रूपकेश राय यादव र भारत पश्चिम बंगाल सिलीगुढी जयगाउँ बस्ने ३० वर्षीय संजोक बस्नेत रहेका छन् ।
उक्त होटलमा सुनचाँदीको अवैध विक्री वितरण हुँदैछ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले होटलको १०२ नम्बरको कोठा तलासी गर्दा उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-५ सिद्धिटोल बस्ने रौतहट गरूडा नगरपालिका-१ श्रीपुर घर भएका २१ वर्षीय श्याम किशोर चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत ललितपुरको २०८० चैत १ गतेको फैसलाले उक्त मुद्दामा १७ लाख ८५ हजार ६ सय रूपैयाँ जरिवाना र क्षतिपूर्ति वापत १ लाख रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-५ सिद्धिटोलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।
वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-७ घर भएका ४४ वर्षीय शिवराज कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
महोत्तरी, आफ्नै श्रीमती ३७ वर्षीया अनिता देवी सदाको हत्या गरेको अभियोगमा भंगाहा नगरपालिका-९ हरिहरपुर बस्ने औराही नगरपालिका-२ चेपकट घर भएका ४२ वर्षीय वीरेन्द्र सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रले अनिताको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कञ्चनबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने कास्की रूपा गाउँपालिका-५ घर भएका ३६ वर्षीय बिकल पौडेल, काठमाडौं तारकेश्वर नगरपालिका-१६ बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-१२ घर भएका ४२ वर्षीय धनिराम बुढा, काठमाडौं टोखा नगरपालिका-१० बस्ने गुल्मी कालीगण्डकी गाउँपालिका-६ घर भएका ३७ वर्षीय काशिराम दर्जी र काठमाडौं टोखा नगरपालिका-८ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-५ घर भएका २५ वर्षीया सरस्वती भण्डारी रहेका छन् ।
पक्राउ मध्ये बिकलले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, धनिरामले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ, काशिरामले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रूपैयाँ र सरस्वतीले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४६ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।
बिकललाई काठमाडौं महानगरपलिका-२८ बाट र धनिरामलाई काठमाडौं महानगरपालिका-६ बाट सोमबार तथा काशिरामलाई काठमाडौं टोखा नगरपालिका-१० बाट र सरस्वतीलाई काठमाडौं महानगरपालिका-३ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया