काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो आठ महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ९.५ प्रतिशतले मात्र बढेको थियो । २०८२ फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ ।
अमेरिकी डलरमा गणना गर्दा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको राष्ट्र बैंकले जनाएकाे छ । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) समेत बढेर १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
यसैबिच, वैदेशिक रोजगारीमा जानका लागि नयाँ श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या ३ लाख १७ हजार ६८ रहेको थियो ।
अर्कोतर्फ, पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्यामा भने वृद्धि भएको छ । अघिल्लो वर्षको आठ महिनामा २ लाख १७ हजार ४०३ जनाले पुनः श्रम स्वीकृति लिएकोमा यसवर्ष सोही अवधिमा २ लाख ५१ हजार ९८५ जनाले यस्तो स्वीकृति लिएका छन् ।
प्रतिक्रिया