• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

धुलिखेल–खावा सडकखण्डमा दुईतर्फी आवागमन

धुलिखेल–खावा सडकखण्डमा दुईतर्फी आवागमन

काभ्रेपलाञ्चोक । स्तरोन्नती भइरहेको अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुईतर्फी आवागमन सञ्चालन गरिएको छ । सडक कालोपत्रे गर्न चैत ७ गतेदेखि पटकपटक विभिन्न मिति थप्दै ३० गतेसम्म आवागमन बन्द तथा एकतर्फी सञ्चालन भइरहेकोमा वैशाख १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन गरिएकाे हाे ।

यहाँ चैत २२ गतेदेखि कालोपत्रेको काम सुरु गरिएको थियो । त्यस दिनदेखि रातको समयमा पूर्णरूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी हाल धुलिखेल चोकबाट २.५ किलोमिटर सडक एकतर्फी पक्की बनाइएको छ ।

अब सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएकाे छ । स्तरोन्नती भइरहेको चार किमीमध्ये बाँकी दुरी पक्की गर्ने कार्य यो साताको अन्तिमबाट सुरु गरिने बताइएकाे छ ।

साे खण्डमा गत चैत ७ गतेदेखि २० गतेसम्म र दोस्रोपटक २१ गतेदेखि ३० गतेसम्म रातको समयमा आवागमन रोकेर काम गरिएको थियो । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएको हो ।

कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्ने गरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको छ । उक्त सडकखण्डमा कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने बताइएकाे छ । सात मिटर चौडाईको बन्ने उक्त सडकमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने जनाइएको छ।

यसअघि तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । उक्त निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो।

उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमा रहेको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख २, बुधबार ००:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP