खानीखाेला । काभ्रेको डाँडापारि क्षेत्रमा निर्माणाधीन जनमुक्ति मार्गकाे निर्माणलाई तीव्र गतिमा अगाडि बढाइएको छ । जिल्लाको विकट भू–भाग अन्तर्गत पर्ने खानीखोला गाउँपालिकामा हाल धमाधम कालोपत्रे गर्ने काम भइरहेको हाे ।
वर्षौँदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित रहेका स्थानीयवासीहरू अहिले सडक निर्माणसँगै उत्साहित बनेका छन् । जनमुक्ति मार्गको निर्माणसँगै यातायात, शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति हुने विश्वास गरिएको छ । यस सडकले स्थानीयकाे आर्थिक गतिविधि बढाउने, कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्याउन सहज बनाउने र समग्र नागरिककाे जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।
निर्माण कार्यलाई तीव्रता दिइएका कारण निर्धारित समयमै काम सम्पन्न हुने संकेत देखिएको छ । सम्बन्धित निकाय र निर्माण कम्पनीले गुणस्तर कायम राख्दै काम अगाडि बढाइरहेको बताएका छन् । स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूले सडकलाई दीर्घकालीनरूपमा उपयोगी बनाउन गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
जनमुक्ति मार्गको निर्माण सम्पन्न भएपछि डाँडापारिका बस्तीहरू प्रत्यक्षरूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछन्, जसले विकासको ढोका अझ फराकिलो बनाउने खानीखाेला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभएको छ ।

प्रतिक्रिया