काठमाडौँ । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले दिउँसाे ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
आजकाे बैठकमा दिउँसो ३ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले सूचित गरेको छ । यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक छुट्टाछुट्टै शुरु हुनेछन् ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिइने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
त्यसैगरी, सभामुखको अनुपस्थितीमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुनेछ ।
यस्तै, सरकारबाट जारी भएका विभिन्न ८ वटा अध्यादेश पनि पेश गर्ने सूची रहेको संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको बैठकमा पनि ती अध्यादेशहरू पेस हुने सचिवालयले जनाएको छ ।
शुभकामना छ ।