• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेला धुलिखेलमा

कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेला धुलिखेलमा

ज्ञानमणि नेपाल कालोटोपी
धुलिखेल । नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलाको सोमबार उद्घाटन भएको छ । काभ्रेको धुलिखेलमा शुरु भएको कार्यक्रम मंगलबारसम्म चल्नेछ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति गगन थापाले भेलाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले नेपाली कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएको दाबी गर्नुभयो । उहाँले इतिहासमा भएका थुप्रै चुनावमा कांग्रेसले पटक पटक हारेको र जितेको स्मरण गराउँदै यो पटकको निर्वाचनमा पनि कांग्रेस दोस्रो भयो भनेर निराश नहुन आग्रह गर्नुभयो ।

देशले जित्दै गर्दाका क्षण आइरहेका अवस्थामा कांग्रेसले हार्दै गरेका उदाहरणहरु प्रस्तुत गर्दै उहाँले देश रहे कांग्रेस रहने र कांग्रेस रहे मात्र नेता, कार्यकर्ता रहने उल्लेख गर्नुभयो । ‘जित–हार आफ्नो ठाउँमा रहेपनि हामीले जिम्मेवार राजनीतिक शक्ति भएको बिर्सनु हुँदैन ।’ थापाले सम्बोधनका क्रममा भन्नुभयो । आगामी निर्वाचनमा एकढिक्का भएर अघि बढ्नु पर्ने आवश्यकता औंल्याउँदै सभापति थापाले भर्खरै सम्पन्न निर्वाचन कांग्रेसको पक्षमा थिएन भन्ने पहिल्यै थाहा भएपनि कांग्रेस निर्वाचनमा होमिएको बताउनुभयो । यदि निर्वाचन नभएको भए देशले निकै ठूलो क्षति बेहोर्नुपर्ने अवस्था कांग्रेसले टारिदिएको दाबी गर्दै उहाँले संविधानको ट्रयाकभन्दा दायाँबायाँ सरकार जान नहुने चेतावती दिनुभयो । प्रतिपक्षमा बसेर कांग्रेसले सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको खबरदारी गर्ने उहाँको भनाइ थियो ।

यस्तै उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसमा एकता कायम गर्नका लागि जरा अभियान शुरु गरिएको बताउँदै समाजमा विश्वास गुम्दै गइरहेको अवस्थामा कांग्रेसले सबैको विश्वास जितेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको सरकार असफल बनोस् भन्ने कांग्रेसले कहिल्यै नसोचेको उल्लेख गर्दै सरकारले नागरिकको भावना बुझेर अघि बढ्नुपर्ने बताउनुभयो । सरकारले नै नागरिकको मन भत्काउने वातावरण नबनाउन आग्रह गर्दै उहाँले सरकारले डोजर आतंक मच्चाउँदा मृत्यु भएका नागरिकको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गर्नुभयो । उहाँले पार्टी विभाजन नहुने दाबी गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रष्ट पार्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री प्रदीप पौडेलले पछिल्लो निर्वाचनमा असफल भए पनि देशका ३३२ वटा पालिकामा नेतृत्व भएको र ४ वटा प्रदेशमा कांग्रेसकै नेतृत्व रहेको बताउनुभयो । उहाँले निर्वाचन कहिले जितिन्छ, कहिले हारिन्छ भन्ने नबिर्सन आग्रह गर्दै हार्दैमा निराश हुनुपर्ने अवस्था नभएको र अर्को पटक पहिलो हुने गरि अहिलेबाटै काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले शुरुमा आफूले पनि विशेष महाधिवेशनको विपक्षमा हस्ताक्षर गरेको बताउँदै निर्वाचन आयोग र सर्वोच्चले समेत गगन थापा नेतृत्वलाई नै मान्यता दिएपछि अब अर्को विकल्प नभएकाले यसैलाई विश्वास गरेको र अरु नेताहरुले पनि अब यस विषयमा अल्झिने समय नभएको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले उपस्थितहरुलाई स्वागत गर्दै पार्टीमा भएका आन्तरिक विवादहरु सकिएको बताउनुभयो । केन्द्रीय सदस्य मधु आचार्यले कार्यक्रमका बारेमा जानकारी दिँदै कांग्रेसको जरा अभियानले कांग्रेस नयाँ हुने दाबी गर्नुभयो । मंगलबारसम्म चल्ने भेलामा नेपाली कांग्रेसका केन्द्र, प्रदेश र जिल्लास्तरिय नेताहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा मेयर, उपमेयरलगायतलाई आगामी आर्थिक वर्षको बजेट तर्जुमाबारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

 



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ४, सोमबार २२:००
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP