काठमाडौँ । काठमाडौँकाे चन्द्रागिरि नगरपालिका र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबीच न्यायिक समितिका असल अभ्यासहरू आदान–प्रदान गर्ने उद्देश्यले अन्तरपालिका अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका कानुन शाखा प्रमुख चिरञ्जीवी खड्काले चन्द्रागिरि नगरपालिकाले न्यायिक समितिमार्फत अवलम्बन गरेका असल अभ्यासहरू प्रस्तुत गर्नुभयो । उहाँले न्यायिक समितिको कार्यसम्पादनलाई व्यवस्थित बनाउन स्पष्ट कार्यविधि निर्माण, नियमित इजलास सञ्चालन, प्रशिक्षित मेलमिलापकर्ताको परिचालन तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।
चन्द्रागिरि नगरपालिकाले न्यायिक समितिसम्बन्धी कार्यविधि ऐन, २०७५ लागू गरी स्थानीय विवाद समाधानलाई संस्थागत बनाएको बताउनुभयो । उहाँका अनुसार चन्द्रागिरि नगरपालिकाले घर-जग्गा, बाटो, सीमाना विवाद, घरेलु हिंसा लगायतका उजुरीहरूलाई मेलमिलाप र संवादमार्फत छिटो तथा प्रभावकारीरूपमा समाधान गर्दै आएको छ।
त्यसैगरी, मेलम्ची नगरपालिकाका तर्फबाट न्यायिक सहजकर्ता अस्मिता ढकाल अर्यालले मेलम्ची नगरपालिकाको न्यायिक अभ्यास प्रस्तुत गर्दै स्थानीयस्तरमै सहज, सुलभ र छरितो न्याय सेवा उपलब्ध गराउन मेलम्चीले गरेको प्रयासबारे जानकारी दिनुभयो । उहाँले न्यायिक समितिको पहुँच वडा तहसम्म विस्तार गर्दै समुदायमै मेलमिलापको संस्कार विकास गर्न नगरपालिकाले काम गरिरहेको बताउँदै मेलम्ची नगरपालिकाले सेवा प्रवाहमा पारदर्शिता र नागरिक पहुँचलाई प्राथमिकतामा राख्दै न्यायिक संयन्त्रलाई सुदृढ बनाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक बसन्ती श्रेष्ठले स्थानीय सरकारको सबैभन्दा संवेदनशील जिम्मेवारीमध्ये न्याय सम्पादन एक भएको उल्लेख गर्दै न्यायिक समितिलाई जनविश्वासको केन्द्र बनाउन अनुभव, क्षमता र सहकार्य आवश्यक रहेको बताउनुभयो । त्यस्तै मेलम्ची नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक उमा प्रधानले यस्ता अन्तरपालिका अनुभव आदान–प्रदान कार्यक्रमले न्यायिक समितिका कामलाई अझ प्रभावकारी बनाउन प्रेरणा दिने बताउँदै स्थानीय तहहरूबीच सहकार्य र सिकाइको संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, सहज र नागरिकमैत्री बनाउने लक्ष्यसहित आयोजित कार्यक्रममा दुवै नगरपालिकाका जनप्रतिनिधि तथा न्यायिक शाखाका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो । यस कार्यक्रमले चन्द्रागिरि र मेलम्ची नगरपालिकाबीच न्यायिक क्षेत्रमा सहकार्य, सिकाइ र अनुभव आदान–प्रदानलाई थप मजबुत बनाउँदै स्थानीय न्याय प्रणालीलाई प्रभावकारी र नागरिकमुखी बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया