काभ्रे । बीपी राजमार्ग क्षेत्रमा मनसुनका समयमा हुन सक्ने सम्भावित विपद्, सडक अवरोध, पहिरो तथा अन्य जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी, उद्धार तथा प्रतिकार्यसम्बन्धी अन्तरपालिका तथा अन्तरनिकाय सरोकारवालाहरुको समन्वय बैठक रोशी गाउँपालिकामा सम्पन्न भएको छ ।
बैठकमा मनसुनको समयमा बीपी राजमार्गमा यात्रु तथा सवारीसाधनको सुरक्षित आवागमन सुनिश्चित गर्ने, जोखिमयुक्त क्षेत्रहरुको पहिचान गर्ने, आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्ने र विपद्का बेला तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा स्थानीय तह, सुरक्षा निकाय, सडक निर्माण तथा पुनःनिर्माणसँग सम्बन्धित निकायबीच आपसी समन्वयलाई थप प्रभावकारी बनाउँदै विपद् व्यवस्थापनलाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
बैठकमा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ, सिन्धुलीकाे सुनकोसी गाउँपालिका अध्यक्ष दिपा बोहरा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा तथा उपाध्यक्ष डि.एम. लामा, दाेलखाकाे कालिन्चोक गाउँपालिका अध्यक्ष अर्जुन सिवाकोटी, सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेश, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रबिन कार्की, सशस्त्र प्रहरी बलका एसपी माधव रेग्मी, जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रशासकीय अधिकृत सुनिता थापा लगायतको उपस्थिती रहेको थियो ।
त्यसैगरी बीपी राजमार्ग पुनःनिर्माणमा संलग्न निर्माण व्यवसायी, विभिन्न वडाका अध्यक्षहरु तथा सुरक्षा निकायका अधिकारीहरुको समेत सहभागिता रहेको थियो । बैठकले मनसुन अवधिभर समन्वयात्मक ढंगले कार्य गर्दै सम्भावित विपद्को प्रभाव न्यूनीकरणमा सक्रिय रहने निष्कर्ष निकालेको राेशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयाे ।
प्रतिक्रिया