• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

विद्युतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय फिर्ता लिन माग गरेका छन् । घिसिङले शनिबार सामाजिक संजाल फेसबुकमा लामाे स्टाटस लेख्दै सरकारकाे याे निर्णय आम उपभोक्ताको हितविपरीत, ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको बताएका छन् ।

उनले नेपालमा विद्युत पहुँच विस्तारसँगै घरायसी प्रयोजनका लागि विद्युतको प्रयोग बढ्दै गएको उल्लेख गर्दै खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु प्रयोजनमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले करको अतिरिक्त भार थपेर उपभोक्तालाई निरुत्साहित गर्न खोजेको आरोप लगाए। घिसिङका अनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने अधिकांश ग्राहक सामान्य घरायसी उपभोक्ता भएकाले यस्तो निर्णयले लाखौं परिवारको मासिक खर्च बढाउनेछ। यसबाट भान्साको खर्चसमेत महँगो हुने उनको भनाइ छ।

देशभित्रै उत्पादित विद्युतको खपत बढाउन प्रोत्साहनमूलक नीति आवश्यक रहेको उल्लेख गर्दै उनले सरकारले उल्टै विद्युत प्रयोगलाई निरुत्साहित गर्ने कदम चालेको बताए। यसले विद्युतीय चुलोलगायत उपकरणको प्रयोग घटाएर पुनः एलपी ग्यासमा निर्भरता बढाउन सक्ने उनको तर्क छ।

उनले यस्तो अवस्था राष्ट्रिय ऊर्जा सुरक्षा, व्यापार घाटा न्यूनीकरण तथा हरित अर्थतन्त्र निर्माणको लक्ष्यसँग मेल नखाने बताए। विद्युतको आन्तरिक खपत बढाउनु आजको आवश्यकता रहेको उल्लेख गर्दै घिसिङले विद्युत महसुललाई थप न्यायोचित, प्रगतिशील र उपभोक्तामैत्री बनाउँदै लैजानुपर्ने धारणा राखे।

उज्यालो नेपाल पार्टीले स्वदेशी विद्युतको उपयोग, स्वच्छ हरित ऊर्जाको प्रवर्द्धन तथा आम उपभोक्ताको हितका लागि विद्युत उपभोक्तामाथि लगाइएको अतिरिक्त ५ प्रतिशत कर तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १६, शनिबार १२:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP