काभ्रेपलाञ्चोक। महाभारत गाउँपालिका–४ सिमल्टार निवासी ३७ वर्षीय चन्द्रबहादुर मोक्तानलाई उपचारका लागि दक्षिण कोरियामा रहेका महाभारतवासी युवाहरूले १ लाख २५ हजार ८९ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
दुवै मिर्गौला खराब भई हाल उपचाररत मोक्तानको एक मिर्गौला शल्यक्रियामार्फत निकालिएको छ भने अर्को मिर्गौलाले आंशिकरूपमा मात्र काम गरिरहेको परिवारले जनाएको छ । हाल उनी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका छन्। उपचारका लागि ठूलो आर्थिक भार परेपछि परिवारले सहयोगको अपिल गरेको थियो।
उक्त अपिललाई सम्बोधन गर्दै दक्षिण कोरियामा कार्यरत महाभारत गाउँपालिकाका युवाहरूले सहयोग अभियान सञ्चालन गरेका थिए। अभियानमार्फत संकलित रकम तथा नेपालमा प्राप्त सहयोग रकमसमेत गरी जम्मा रु. १ लाख २५ हजार ८९ रुपैयाँ बिरामी मोक्तानलाई हस्तान्तरण गरिएको अभियानकर्ताहरूले जानकारी दिएका छन् ।
सहयोग अभियानमा कोरिया तथा नेपालमा रहेका विभिन्न व्यक्तिहरूले नगद तथा कोरियन वोनमार्फत सहयोग गरेका थिए। अभियानमा अनिल वाईबाले रु. ५० हजार, आशिष मोक्तानले रु. ५ हजार, प्रदीप वाईबाले रु. ४ हजार, सञ्जीव वाईबाले रु. ५ हजार तथा अन्य सहयोगीहरूले समेत आफ्नो क्षमता अनुसार आर्थिक सहयोग प्रदान गरेका थिए।
सहयोग अभियान सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सहयोगी, अभियानकर्मी तथा दक्षिण कोरियामा कार्यरत महाभारतवासी युवाप्रति आयोजकहरूले हार्दिक धन्यवाद व्यक्त गरेका छन् । साथै मोक्तानको स्वास्थ्यलाभको कामना गर्दै आवश्यक परे आगामी दिनमा पनि सहयोगका लागि साथ रहने प्रतिबद्धता व्यक्त गरिएको छ ।
महाभारत गाउँपालिका–४ सिमल्टारका स्थानीयवासी मोक्तानको उपचारका लागि जुटेको यो सहयोगले मानवीय सद्भाव र सामाजिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको स्थानीयवासीहरूले बताएका छन्।
प्रतिक्रिया