बनेपा । महिला, समुदाय र सामाजिक परिवर्तनका सशक्त कथाहरूलाई कला र कथावाचनमार्फत प्रस्तुत गर्ने घुम्ती कला प्रदर्शनी ‘ऊर्लंदो नदीसरि: महिला र परिवर्तनका कथाहरू’ (Like a Rising River: Stories of Women and Change) (जेठ १९) आजदेखि बनेपामा शुरू भएकाे छ । प्रदर्शनी जेठ २१ गते (जुन २ देखि ४, २०२६) सम्म चल्नेछ ।
बनेपा पुलबजारस्थित पञ्चकन्या ब्याङ्क्वेटमा सञ्चालन भइरहेकाे प्रदर्शनी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहनेछ । प्रदर्शनीमा १५ जना कलाकारका सिर्जनाहरू समावेश गरिएका छन्, जसले नेपालका विभिन्न समुदायका महिलाहरूको जीवन, श्रम, ज्ञान, नेतृत्व, संघर्ष र सहनशीलताका कथाहरूलाई कलात्मक माध्यमबाट प्रस्तुत गर्नेछन् ।
आयोजकका अनुसार प्रदर्शनीले सुदूरपश्चिम, कर्णाली, मधेश र बागमती प्रदेशका महिला तथा समुदायका अनुभव र परिवर्तनका कथाहरूलाई केन्द्रमा राखेको छ । सार्वजनिक विमर्शमा प्रायः ओझेलमा पर्ने महिलाहरूका भोगाइ, सपना, साझा संघर्ष तथा दैनिक साहसका कार्यहरूलाई उजागर गर्दै प्रदर्शनीले संवाद, चिन्तन र आशाको वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ ।
प्रदर्शनीमा कलाकृतिसँगै कथावाचन, स्थानीय उत्पादनहरूको प्रवर्द्धन तथा बिक्रीका लागि विशेष ‘हाट बजार’ र ‘सुनौलो बिहानी’ नामक सडक नाटक पनि प्रस्तुत गरिनेछ । यसले कला, संस्कृति, समुदाय र सामाजिक चेतनाको जीवन्त संगम सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
दृश्य कला, प्रदर्शन कला तथा भाषा कलामार्फत समावेशी सिकाइ प्रवर्द्धन गर्न समर्पित गैरनाफामूलक संस्था Srijanalaya द्वारा आयोजना गरिएको उक्त प्रदर्शनी UN Women तथा Finland सरकारको सहयोगमा सञ्चालन हुँदैछ । कार्यक्रममा Dalit Women Center Nepal, Nepal Dalit Sewa Samaj, JuRI Nepal तथा FEDO को सहकार्य रहेको छ। आयोजकले प्रदेश, समुदाय र पुस्तौँसम्म बग्ने परिवर्तनका कथाहरूको अनुभव लिन सबैलाई प्रदर्शनीमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया