काभ्रे । पतञ्जली आयुर्वेद मेडिकल कलेज तथा रिसर्च सेन्टर र धुलिखेल नगरपालिका वडा नं. ४ को सहकार्यमा धुलिखेलमा निःशुल्क घुम्ती आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
धुलिखेल नगरपालिका आयुर्वेद शाखा, काभ्रेको आयोजनामा धुलिखेल–४ बुद्धपार्कस्थित सेतीदेवी बहुउद्देश्यीय उपभोक्ता समितिको भवनमा सञ्चालन गरिएको शिविरमा २६४ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
धुलिखेल नगरपालिका आयुर्वेद शाखा प्रमुख उषा पौडेलका अनुसार शिविरबाट सेवा लिनेहरूमध्ये १६८ जना महिला र ९६ जना पुरुष रहेका थिए । शिविरमार्फत स्थानीय नागरिकलाई आयुर्वेद उपचार, स्वास्थ्य परामर्श तथा रोग पहिचानसम्बन्धी सेवा प्रदान गरिएको थियो।
शिविरमा पिनास, रुघाखोकी, बाथ, जन्डिस, ग्यास्ट्रिक, अपच, उच्च रक्तचाप, मधुमेह, पायल्स, छालासम्बन्धी रोग, मानसिक स्वास्थ्य समस्या तथा बालरोग लगायतका विभिन्न स्वास्थ्य समस्याको परीक्षण र आयुर्वेदिक परामर्श उपलब्ध गराइएकाे धुलिखेल नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले जानकारी दिनुभयाे ।
शिविरमा आयुर्वेदका विशेषज्ञ चिकित्सकहरूबाट विभिन्न रोगहरूको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने जनाइएको छ । यस प्रकारका स्वास्थ्य शिविरले समुदायस्तरमा सहज र पहुँचयोग्य स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया