काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानबीच भेटवार्ता भएको छ । भेटका क्रममा काठमाडौँ महानगरपालिका र मेलम्चीबीच स्थापित भगिनी सम्बन्धलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।
छलफलमा दुवै स्थानीय तहबीच विकास निर्माण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, पर्यटन प्रवर्द्धन, क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विशेष जोड दिइएको र स्थानीय सरकारहरूबीचको साझेदारीलाई परिणाममुखी बनाउँदै नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा समेत सहमति भएको उपप्रमुख उमा प्रधानले बताउनुभयो ।
छलफलमा कार्यवाहक मेयर डङ्गोलले स्थानीय तहहरूबीचको सहकार्यले दिगो विकास र सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै आगामी दिनमा मेलम्ची नगरपालिकासँग विभिन्न क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाइने बताउनुभयो ।
त्यसै मेलम्ची नगरपालिकाका उपप्रमुख प्रधानले मेलम्ची र काठमाडौँबीचको भगिनी सम्बन्धले दुवै स्थानीय तहलाई अनुभव, स्रोत र अवसर आदान–प्रदान गर्न सहयोग पुगेको उल्लेख गर्दै विकास, पर्यटन तथा विपद् व्यवस्थापनका क्षेत्रमा संयुक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
छलफलमा दुवै पक्षले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया