काभ्रे । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले रक्तसञ्चार सेवा, रक्तदानसम्बन्धी जनचेतना अभियानलाई तीव्रता दिएको छ । रक्त अभाव न्यूनीकरण गर्दै बिरामीलाई समयमै रगत उपलब्ध गराउने उद्देश्यले सेवा केन्द्रले रक्तदानसम्बन्धी सामान्य जानकारीसहितको सूचना सामग्री सार्वजनिक गरेको हो । सूचनामा स्वस्थ व्यक्तिले नियमितरूपमा रक्तदान गर्न सक्ने उल्लेख गरिएको छ । पुरुष तथा महिलाले निश्चित स्वास्थ्य मापदण्ड पूरा गरेपछि प्रत्येक तीन महिनाको अन्तरालमा रक्तदान गर्न सक्ने जनाइएको छ । रक्तदान गर्दा सामान्यतया ५ देखि १० मिनेट मात्र लाग्ने र शरीरमा कुनै दीर्घकालीन असर नपर्ने जानकारी दिइएको छ ।
रक्तदान गरेपछि शरीरमा भएको तरल पदार्थको कमी केही घण्टामै पूर्ति हुने तथा रक्तकोषिकाहरू पनि क्रमशः पुनः निर्माण हुने भएकाले स्वस्थ व्यक्तिले निर्धक्क भएर रक्तदान गर्न सक्ने रेडक्रसले जनाएको छ । रक्तदानपछि केही समय आराम गर्न, प्रशस्त पानी पिउन तथा धूम्रपान र मदिराजन्य पदार्थ सेवन नगर्न सुझाव दिइएको छ ।सूचनामा सबै व्यक्तिले रक्तदान गर्न नमिल्ने पनि उल्लेख गरिएको छ । छारे रोग, क्षयरोग, मिर्गौला रोग, मधुमेह, मुटु रोग, उच्च रक्तचाप, एचआईभी संक्रमणलगायतका स्वास्थ्य समस्या भएका व्यक्तिले रक्तदान गर्न नहुने जनाइएको छ । साथै असुरक्षित यौन सम्पर्क, लागूऔषध दुर्व्यसन वा अन्य जोखिमपूर्ण व्यवहारमा संलग्न व्यक्तिलाई पनि रक्तदान गर्न रोक लगाइएको छ ।
नेपाल रेडक्रस सोसाइटीले रक्तदान गरेपछि रक्तदाताको रगतमा एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी, सिफिलिस लगायतका रोगहरूको परीक्षण गरिने जानकारी दिएको छ । यसले रक्तदातालाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
रक्तसञ्चार सेवाको इतिहास झण्डै डेढ सय वर्ष पुरानो रहेको उल्लेख गर्दै रेडक्रसले आधुनिक रक्तसञ्चार सेवाको विकाससँगै विश्वभर लाखौं बिरामीको जीवन बचाउन सम्भव भएको जनाएको छ। नेपालमा पनि रक्तदान कार्यक्रमप्रति जनसहभागिता बढ्दै गएको र सुरक्षित रक्तको उपलब्धता सुनिश्चित गर्न स्वयंसेवी रक्तदाताको भूमिका महत्वपूर्ण रहेको बताइएको छ ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा, बनेपाले व्यक्ति, समूह तथा संघ–संस्थाले सामूहिक रक्तदान कार्यक्रम आयोजना गर्न चाहेमा सेवा केन्द्रसँग सम्पर्क गर्न आग्रह गरेको छ । “मानवताका लागि एक थोपा रगत, जीवन बचाउने अमूल्य योगदान” भन्ने सन्देशसहित रेडक्रसले नियमित रक्तदान गर्न सबै नागरिकलाई अपिल गरेको छ ।
प्रतिक्रिया