धुलिखेल । लागूऔषध दुर्व्यसन तथा अवैध ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकमा लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस सप्ताहव्यापीरूपमा मनाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा बुधबार बसेको सरोकारवाला निकायहरूको बैठकले असार ६ गतेदेखि १२ गतेसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।
कार्यक्रमअन्तर्गत असार ६ गते बनेपामा सार्वजनिक सवारी चालकहरूको लागूऔषध सेवन (लापसे) परीक्षण गरिनेछ। साथै माध्यमिक विद्यालय तथा कलेज स्तरका शैक्षिक संस्थाका शिक्षक, कर्मचारी तथा सञ्चालकहरूलाई लक्षित गरी लागूऔषध नियन्त्रण तथा रोकथामसम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ।
बैठकले जिल्लाका स्थानीय तह तथा मातहतका निकायहरूलाई पनि लागूऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
सप्ताहव्यापी अभियानमा जिल्ला प्रहरी कार्यालय काभ्रे, नेपाल पत्रकार महासंघ काभ्रे शाखा, प्याब्सन काभ्रे, जिल्ला समन्वय समिति, गैरसरकारी संस्था महासंघ काभ्रे, विभिन्न पुनर्स्थापना केन्द्र तथा सहयोगी संस्थाहरूको सहकार्य रहने जनाइएको छ। त्यसैगरी होटल व्यवसायी संघ, औषधि व्यवसायी लगायत अन्य सरोकारवाला निकायहरूको समेत सहयोग रहनेछ।
लागूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा असार १२ गते प्रभातफेरी, र्याली तथा जनचेतनामूलक कार्यक्रमहरू पनि आयोजना गरिने कार्यक्रम तय गरिएको छ। कार्यक्रमको सहयोग जिल्ला जनस्वास्थ्य कार्यालयले गर्नेछ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी भोला गुरागाईं, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्की लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि सबै क्षेत्रको समन्वय र सक्रिय सहभागिता आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए।
प्रतिक्रिया