सिन्धुपाल्चोक । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा सोमबार सञ्चारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/२०८३ को स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू तथा विगतको प्रगति समीक्षाका विषयमा जिल्लामा उपलब्ध पत्रकार तथा सञ्चारकर्मीहरूसँग उक्त अन्तरक्रिया गरिएको हो ।
बागमती प्रदेश सरकारको महत्वपूर्ण कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षभित्र ‘एक जिल्ला स्वास्थ्य सहर’ बनाउने अभियान पूरा गर्ने लक्ष्य लिइएको छ । यसैगरी, ‘एक स्थानीय तह एक नमुना स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये पाँचपोखरी थाङ्पाल गाउँपालिकामा यो अभियान सुरुवात भइसकेको छ । बाँकी ११ वटा पालिकाहरूमा पनि आगामी आर्थिक वर्षभित्र यो कार्यक्रम विस्तार गरी पूरा गर्ने लक्ष्य जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईले स्वास्थ्य क्षेत्र र कार्यालयका गतिविधिबारे सञ्चारकर्मीहरूले राखेका जिज्ञासाहरूको प्रष्टीकरण दिनुभएको थियो । उहाँले जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले एक वर्षको अवधिमा हासिल गरेका समग्र प्रगति, चुनौती र आगामी कार्यदिशाबारे आफ्नो स्पष्ट धारणा राख्नुभयो ।
सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत बबिता श्रेष्ठले कार्यालयले एक वर्षको अवधिमा गरेका प्रगति विवरण तथा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तय गरिएका स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरूको विस्तृत खाका समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा आफ्नो सुझाव तथा धारणा राख्दै नेपाल पत्रकार महासङ्घ सिन्धु शाखाका उपाध्यक्ष दीपक अर्यालले जिल्ला जनस्वास्थ्य कार्यालयले गरेका सकारात्मक कार्यहरूको प्रशंसा गर्नुभयो । साथै, उहाँले जिल्लाको स्वास्थ्य क्षेत्रमा रहेका विद्यमान समस्याहरू औंल्याउँदै आगामी दिनमा कार्यालयले सुधार्नुपर्ने पक्ष र पत्रकार-जनस्वास्थ्य कार्यालयबीचको सहकार्यका विषयमा रचनात्मक सुझावहरू दिनुभएको थियो । जनस्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर देवराज सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया