काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केहीमाथि नेपालको तराई आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ । जसले गर्दा हाल देशभर साधारणतया बादल लागेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
देशका पहाडी र तराई भागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर अधिकांश बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । देशका पहाडी र तराई भागका अधिकांश स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
देशका पहाडी भाग, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका थोरै स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । अति भारी वर्षाको सम्भावना रहेका प्रदेशमा बाढी पहिरोको जोखिम उच्च रहने भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया