काभ्रे । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–५ स्थित खानीखोला बर्तली दोभानमा आइतबार राति आएको बाढीले एउटा मोटरसाइकल बगाएको छ । घटनामा मोटरसाइकल चालक भने सामान्य घाइते भएका छन् ।
महाभारत गाउँपालिका–५ का वडा अध्यक्ष विजय रानाका अनुसार आइतबार साँझ करिब ७ देखि ८ बजेको बीचमा सिन्धुलीको घ्याङ्लेख गाउँपालिका निवासी सुन्दर श्रेष्ठले चलाएको पल्सर-२२० मोटरसाइकल खोला तर्ने क्रममा अचानक आएको भेलले बगाएको हो ।
घटनापछि स्थानीयवासीको सहयोगमा चालकको सकुशल उद्धार गरिएको भए पनि मोटरसाइकल भने हालसम्म फेला पर्न सकेको छैन । स्थानीयवासीले खोलामा निरन्तर खोजी कार्य गरिरहेको वडा अध्यक्ष रानाले जानकारी दिनुभयाे ।
वर्षायाम सुरु भएसँगै महाभारत गाउँपालिकाका ग्रामीण सडकहरू हिलाम्मे हुने, खोलानालामा पानीको बहाव बढ्ने तथा यातायात सञ्चालन जोखिमपूर्ण बन्ने समस्या हरेक वर्ष दोहोरिने गरेको स्थानीय बताउँछन् । सडक तथा पुलको पर्याप्त पूर्वाधार नहुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।
स्थानीयले वर्षायाममा जोखिमयुक्त सडक र खोला पार गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै, दीर्घकालीनरूपमा सुरक्षित सडक तथा पुल निर्माण गरी वर्षेनी दोहोरिने यस्ता समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
तस्बीरः विजय राना
प्रतिक्रिया