• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

बेलर इन्टरनेशनल एकेडेमीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बिदाइ तथा शुभकामना कार्यक्रम

बेलर इन्टरनेशनल एकेडेमीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बिदाइ तथा शुभकामना कार्यक्रम

ज्ञानमणि नेपाल कालोटोपी

बनेपा, काभ्रे । बनेपा नगरपालिका वडा नं. ७ मा स्थित बेलर इन्टरनेशनल एकेडेमीले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूका लागि एक विशेष बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । धुलिखेल लज रिसोर्टमा शनिबार आयोजित उक्त समारोहमा विद्यालयले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको हो ।

​नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य होमप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला थापाले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले बेलर एकेडेमी काभ्रे जिल्लाकै एक उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित भएको बताउनुभयो। उहाँले विद्यालयको निरन्तर प्रगति र विद्यार्थीहरूको सफलताको प्रशंसा गर्दै आगामी दिनमा पनि अझै ठूलो सफलता हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो ।

​कार्यक्रमको सुरुवातमा अध्यक्ष भोला थापाले उपस्थित सम्पूर्ण अतिथिहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो। उहाँले विद्यालयले सञ्चालन गरिरहेका विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूका बारेमा जानकारी गराउनुभयो । बेलर एकेडेमी आज विद्यार्थीहरूको पहिलो रोजाइ र आकर्षणको केन्द्र बनेको उल्लेख गर्दै उहाँले विद्यालयलाई यो उचाइमा पुर्‍याउन सहयोग गर्ने शिक्षक, अभिभावक तथा सम्पूर्ण शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

समारोहमा विद्यार्थी रजिता श्रेष्ठ, पनौती प्याब्सनका अध्यक्ष रामचन्द्र देउजा तथा बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्ट लगायतका अतिथिहरूले पनि मन्तव्य राख्दै उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उत्कृष्ट विद्यार्थी र शिक्षकहरू सम्मानित

कार्यक्रमको अवसरमा विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरू तथा लामो समयदेखि निरन्तर सेवारत विभिन्न विषयका शिक्षक-शिक्षिकाहरूलाई सम्मान र पुरस्कृत गरिएको थियो। साथै, कक्षा ११ र १२ मा १०० प्रतिशत उपस्थिति जनाउने विद्यार्थी वीरबल पोटेका साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू नम्रता तिवारी, आशिका सुवाल, बासुदेव खड्का लगायतलाई विशेष सम्मान प्रदान गरिएको थियो।

कक्षा १२ मा शतप्रतिशत नतिजा

​विद्यालयकी प्रिन्सिपल इन्दु थापाका अनुसार यस वर्षको कक्षा १२ को राष्ट्रिय परीक्षामा बेलर इन्टरनेशनल एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै शतप्रतिशत (१००%) नतिजा हासिल गर्न सफल भएको छ। यस वर्ष विद्यालयबाट ५६५ जना विद्यार्थीहरू उत्तीर्ण भएको जानकारी प्रिन्सिपल थापाले दिनुभयो।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ९, शनिबार १५:२१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP