• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

कृषि, पर्यटन, पूर्वाधार र जलाधारमा फड्को मार्दै मेलम्ची नगरपालिका

कृषि, पर्यटन, पूर्वाधार र जलाधारमा फड्को मार्दै मेलम्ची नगरपालिका

मेलम्ची । “कृषि, पर्यटन, पूर्वाधार र जलाधार : समृद्ध मेलम्चीको आधार” भन्ने नारालाई आत्मसात गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका तीव्र विकासको यात्रामा अघि बढिरहेको छ । नगर प्रमुख आइतमान तामाङको नेतृत्वमा पछिल्ला वर्षहरूमा नगरको सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ ।

शहर र मेलम्ची–९ का दुर्गम बस्ती गुफाडाँडा, मुलखर्क तथा ओख्रेनीबीचको पहुँच सहज बनाउन मेलम्ची–ज्यामिरे–गुफाडाँडा सडक सुधार, फट्टे र इन्द्रावती नदीमा पक्की पुल निर्माण तथा यातायात व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिएका छन् । यी पूर्वाधारले ग्रामीण बस्तीलाई बजार र सेवा केन्द्रसँग जोड्दै स्थानीयको दैनिक जीवन सहज बनाएको छ । साथै कृषकले उत्पादन सहजरूपमा बजारसम्म पुर्‍याउन पाएका कारण आम्दानीमा समेत सकारात्मक प्रभाव परेको स्थानीयको भनाइ छ ।

पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले ऐतिहासिक पदमार्ग, प्राकृतिक जलधार तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ । साना होमस्टे सञ्चालन, पर्यटन गाइड तालिम, स्थानीय उत्पादनको बजारीकरण तथा कोशेली घर स्थापना जस्ता कार्यक्रममार्फत रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य लिइएको छ ।

जलाधार संरक्षण तथा व्यवस्थापन अन्तर्गत खानेपानी र सिँचाइको पहुँच विस्तार, वन संरक्षण तथा मुहान संरक्षणमा गरिएको लगानीले किसान र स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक सुधार आएको नगर प्रमुख तामाङले बताउनुभयो । यी कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन गर्न स्थानीय समुदायको सक्रिय सहभागिता र पारदर्शी योजना व्यवस्थापनलाई प्राथमिकता दिइएको नगर उपप्रमुख उमा प्रधानले जानकारी दिनुभयो ।

नगर प्रमुख तामाङका अनुसार, “हाम्रो लक्ष्य समृद्धि र दिगो विकास हो, जसको प्रत्यक्ष लाभ प्रत्येक नागरिकले अनुभूति गर्नेछन् ।” उहाँले चार वर्षअघि कठिन जीवनयापन गर्न बाध्य स्थानीय अहिले सडक, सेवा र अवसरसँग जोडिँदै आत्मनिर्भर र आशावादी बन्दै गएको उल्लेख गर्नुभयो ।

नगरपालिकाले आगामी दिनमा यी विकास पहललाई अझ दिगो बनाउन निजी क्षेत्र तथा विकास साझेदारसँग सहकार्य विस्तार गर्दै स्रोत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने जनाएको छ । स्थानीय नेतृत्वको सक्रियता र समुदायको सहभागिताले मेलम्चीलाई दीर्घकालीन विकासको मार्गमा अघि बढाउने आधार तयार भएको प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले बताउनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण १५, शुक्रबार २०:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP